२३ कार्तिक २०७८, मंगलवार
  • रमेश अधीकारी

सर्लाही । केही वर्ष अघिसम्म जो कोहीको घरमा प्रविधिमा आधारित मिक्स्चर तथा अन्य उपकरणको सहज उपलब्धता थिएन । परम्परागत रुपमा प्रयोग हुँदै आएका सिलौटो, लोहोरोको प्रयोग अनिवार्य जस्तै थियो । तर पछिल्ला दिनहरुमा बजारमा उपलब्ध हुने आधुनिक उपकरणको सहज उपलब्धताले यस्ता परम्परागत उपकरणको प्रयोग घट्दै गएको छ ।

प्रविधिको विकास र यसको सहज उपलब्धताकै कारण छोटो समयको अन्तरालमा नै पत्थरकट्टा जातीको पुर्ख्यौली पेशा संकटमा परेको छ । केही वर्ष अघिसम्म सर्लाहीका विभिन्न स्थानमा हातले बनाइएको सिलौटो, लोहोरो, जाँतो लगायतका घरायसी प्रयोगका उपकरण बिक्री गर्दै आएका पत्थरकट्टाहरु अहिले पेशाबाट बिस्थापित हुने अवस्थामा पुगेका छन् ।

पछिल्लो समय तिब्र गतिमा विकास भईरहेको प्रविधिमा मानिस रमाउँदै गर्दा त्यसको सिधा असर पत्थरकट्टा जस्तै अरु धेरै विधाका उत्पादन बनाउँदै आएकाहरु पनि आफ्नो पेशाबाट क्रमिक रुपमा बिस्थापित हुँदै गइरहेका पाइन्छ । प्रविधिको विकाससंगै मानिस सुख सुविधामा मस्त हुँदै गर्दा त्यही आधुनिकताका कारण पुर्ख्यौली पेशा अगाल्दै आएका जाती तथा समुदायहरु अहिले बिस्थापीत हुने अवस्थामा पुगेका हुन् । पत्थरकट्टाहरुको कुटानी पिसानी गर्ने ढुङ्गाबाट बनाइएका सिलौटो, लोहोरो, जाँतो, ओखल लगायतको बजार संकुचित बनेसँगै आफ्नो पेशा व्यवसाय नै डगमगाउने अवस्थामा पूगेको भन्दै पत्थरकट्टाहरु चिन्तित हुन थालेका छन् ।

केही वर्ष पहिलेसम्म गाउँमा मात्र नभई शहरी क्षेत्रका घरमा समेत सिलौटो, लाहोरो र एकाध संख्यामा जाँतोको प्रयोग हुँदै आएको थियो । शहरी क्षेत्रको आसपासका साथै ग्रामीण क्षेत्रमा जाँतो, ढिकि, ओखलको प्रयोग धेरै मात्रामा हुँदै आएकोमा अहिले यसको प्रयोग शुन्य अवस्थामा पुगिसकेको छ । जसका कारण यस्ता परम्परागत उपकरणहरु छोटो समयको अन्तरालमा नै लोप हुने अवस्थामा पुगेका छन् । जसका कारण पत्थरकट्टाहरु अहिले चिन्तामा बनेका छन् ।

चामल कुट्न तथा पिस्नका लागि मिल चलाउने प्रचलन सुरु भएसँगै ढिकि, जाँतो र ओखलको प्रयोग झण्डै शुन्यको अवस्थामा पुग्न गयो । त्यसैगरी बजारमा पसल पसलमा मिक्स्चर आएपछि सिलौटो तथा लोहोरोको पनि लोप हुने बाटोमा लागे पछि पत्थरकट्टाहरुमा चिन्ता बढेको छ ।
पुर्खादेखि चल्दै आएको आफ्नो व्यवसाय पुस्तान्तरण हुँदै आएको भए पनि अब पुस्तान्तरण नहोला कि भन्ने चिन्ता पत्थरकट्टाहरुमा छ । प्रविधिमा आधारित उपकरणको प्रयोग राम्रो भए पनि आफ्नो पेशा नै गुम्ने र आफुहरु बिस्थापित हुनु पर्ने हो कि भन्ने चिन्ता बढ्दै गएको पत्थरकट्टाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV