२३ कार्तिक २०७८, मंगलवार

काठमाडौँ । कवि एवं गजलकार वासुदेव पाण्डेयको प्रकृतिपरक कविताहरूको सञ्चयन ‘दुलही’ बजारमा आएको छ ।

छन्द कवितामा सिद्धहस्त कवि पाण्डेयको यो पहिलो कवितासंग्रह हो । उनका यसअघि ‘गजलका फाकीहरू’ (सहलेखन), ‘आगमन’ गजलसंग्रह तथा ‘छन्द र अलङ्कार : सिद्धान्त र प्रयोग’लगायत कृति प्रकाशन भइसकेका छन् ।

सोमबार राजधानीस्थित वाल्मिकी क्याम्पसमा एक अनौपचारिक जमघटमाझ उक्त कृति सार्वजनिक गरियो । वरिष्ठ कवि एवं साहित्यकार भुवनहरि सिग्देल, उपन्यासकार तर्कना शर्मा, कृतिकार वासुदेव पाण्डेय, कवि राजेन्द्र तारकिणी तथा प्रकाशक दीपक नेपालले उक्त कृति सार्वजनिक गरेका हुन् ।

उक्त क्रममा कृतिकार पाण्डेयले कविता वाचन गरेर सुनाएका थिए । उनले छानिएका कविताहरू नै यस संग्रहमा समाविष्ट गरिएको बताए ।
कविताहरूमाथि वरिष्ठ कवि सिग्देलले संक्षिप्त टिप्पणी गरेका थिए । उनले पाण्डेयका कवितामा गहन भाव रहेको र छन्द संयोजन समेत राम्रो रहेको बताए ।

कवि तारकिणीले जस्तोसुकै विषयलाई पनि टपक्क टिपेर छन्दमा ढाल्न सक्ने खुवी कवि पाण्डेयमा देखिएको भन्दै उनका कवितामा भाव, लय र कलाको उच्च संयोजन रहेको बताए ।

काठमाडौँबाट सम्पादन हाउस प्रा.लि. ले प्रकाशनमा ल्याएको यस कृतिको मूल्य रु १५० रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV