२२ कार्तिक २०७८, सोमबार

धनुषा । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस धनुषाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री खाँणले सत्ता र पार्टी सञ्चालनका लागि प्रधानमन्त्री तथा पार्टी सभापति दुवै एकै व्यक्ति हुनुपर्ने बताए। प्रधानमन्त्री र पार्टी सभापति एकै जना भए सत्ता सञ्चालन गर्न सजिलो हुने र आन्तरिक किचलो समेत नहुने उनको भनाइ थियो ।

गृहमन्त्री खाँणले तराई मधेसमा रहेको नागरिकता समस्या सम्पूर्ण देशको समस्या भएको बताए। ‘यसलाई अध्यादेशबाट नभई ऐनमार्फत दीर्घकालीन रूपमा समाधान गर्न सरकारले तयारी गरिरहेको छ,’ उनले भने । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक संसद् अवरुद्ध गर्दै आएकाले नागरिकता लगायतका अन्य आवश्यक विधेयक अड्किएको र संसद् सञ्चालन हुने बित्तिकै नागरिकता विधेयक नै आफूहरूले पारित गराएर समस्या समाधान गर्ने तयारीमा रहेको उहाँले बताए ।

सदनको गतिरोध हटाउन उहाँले एमालेसँग आग्रह गरे । गृहमन्त्री खाँणले सरकार आमजनताको जीवन रक्षाका लागि गम्भीर रहेको स्पष्ट पार्दै नेपाली जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए ।

सुरक्षा व्यवस्थामा थप सुधार गर्न तथा नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका लागि सरकार प्रयत्नशील रहेको उहाँले उल्लेख गरे । न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै न्यायापालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नु आवश्यक भएको र सरकारको चाहना समेत त्यही भएको मन्त्री खाँणको भनाइ थियो ।

LIVE TV