२२ कार्तिक २०७८, सोमबार

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पु¥याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

समितिमा ११ सदस्य रहनेछन् । सत्ता गठबन्धनमा रहेका दलबाट दुई–दुई जना र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहने निर्णय भएको उनले जानकारी दिए । नेता श्रेष्ठका अनुसार हरेक पार्टीले दुई–दुई महिना समितिको नेतृत्व गर्नेछन् ।

पहिलो संयोजन नेपाली कांग्रेसले गर्नेछ । कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले संयोजन गर्ने उनले जानकारी दिए । हरेक बैठकमा प्रधानमन्त्री सहभागी हुने उनको भनाइ छ । समिति गठनको उद्देश्यबारे प्रस्ट पार्दै उनले भने, “गठबन्धनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, सरकार सञ्चालनमा सहयोग पु-याउने तर सरकार सञ्चालन गर्ने संयन्त्र होइन, दलहरूको समन्वय समिति मात्र हो ।”

राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्ष, संस्थागत सुदृढीकरण, सुरक्षा, सुशासन, सेवा र विकास एवं निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्यका साथ समिति गठन गरिएको उनले बताए ।

गठबन्धन बैठकमा आसन्न राष्ट्रियसभा बैठकमा मिलेर जाने सहमति भएको नेता श्रेष्ठले बताए । न्यायालयमा देखिएको गतिरोध र विभिन्न देशमा रिक्त राजदूत नियुक्तिका विषयमा कुनै छलफल नभएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV