२२ कार्तिक २०७८, सोमबार
  • ललन मण्डल,

जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँडले आम जनताको जीवन रक्षाको लागि सरकार गम्भीर रहेको बताएका छन् । उनले नेपाली जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए ।

सोमबार जनकपुरधाममा कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन आएका गृहमन्त्री खाँडले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको कुनै पनि स्थानमा स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकारलाई सुनिश्चितताको लागि सरकार प्रयत्नशील रहेको बताए ।

उनले राज्यको र सरकारको पहिलो दायित्व नै नागरिकको जीवन रक्षा रहेको र त्यसका लागि आफूहरु प्रयत्नशील रहेको बताए । नागरिकता समस्याको सवालमा उनले भने, ‘नागरिकताको समस्या तराई मधेशको मात्र नभई सम्पूर्ण देश कै समस्या हो । यसलाई अध्यादेशबाट नभई ऐनमार्फत् दीर्घकालीन रूपमा समाधान गर्न सरकारले तयारी गरिरहेको छ ।’

त्यस्तै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक–पटक संसद अवरुद्ध गर्दै आएकोले नागरिकता विधेयकलगायतका अन्य आवश्यक विधेयकहरू अड्किएको र संसद सूचारु हुनेबित्तिकै सबै भन्दा पहिले नागरिकता विधेयक नै आफूहरूले पारित गराएर समस्या समाधान गर्ने तयारीमा रहेको बताए ।

न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायापालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV