२२ कार्तिक २०७८, सोमबार
  • तारा आचार्य,

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अभिमत र लोकतन्त्रविरुद्ध गर्ने अदालतको फैसलाबारे जनताले नजिकबाट नियालिरहेका बताएका छन् ।

उनले अदालतको फैसला सेटिङको आधारमा गर्ने कुरालाई जनताले नपचाउने धारणा व्यक्त गर्दै सर्वोच्च अदालत संविधानको व्याख्याता मात्र भएको र संविधान संसोधन गर्ने अधिकार नभएको टिप्पणी गरे ।

नेकपा एमाले जिल्ला कमिटी मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतामा मुलुकको स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमसत्ता सम्बन्धमा असाधारण रुपमा जागरण आएकाले यसलाई संरक्षित गरेर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

त्यस्तै अध्यक्ष ओलीले अदालतको फैसलाको सबैले सम्मान गर्नुपर्ने बताउदै असंवैधानिक, अलोकतान्त्रिक र अन्यायपूर्ण फैसला नै भएपनि आफूहरुले मानिदिएको र अहिले आएर फैसला गर्दा भएको लेनदेन बाहिर आएको बताए ।

अध्यक्ष ओलीले एमाले समृद्ध नेपाल र सुखी नेपालीका लागि लागिपर्ने र सरकार नेतृत्व गरेको बेला समाजवाद उन्मुख कार्यक्रमहरु ल्याएको जानकारी दिए । उनले आगामी निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV