२२ कार्तिक २०७८, सोमबार

काठमाडाैँ । अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले जसरी पनि संस्था बचाउन राजीनामा दिनुपर्ने बताएका छन्र ।

नेपाल बार एशाेशिएसनमा साेमबार विराेध कार्यक्रममा सम्बाेधन गर्दै उनले प्रश्न गरे, ‘प्रधानन्यायाधीशले यो बुझ्नुपर्छ कि बार आखिर तपाइँको राजीनमा माग्नलाई बाध्य किन भयो ?’

यसअघि प्रन्या जबराले सडकले माग्दैमा राजीनामा नदिने बताएकाे कुरातर्फ इंगित गर्दै अधिवक्ता त्रिपाठीले भने, ‘तपाईको राजीनामा सडकले मागिरहेको छैन । तपाईको परीवारले मागिरहेको छ । बेन्चले मागिरहेको छ । यी दुवैले मागिरहेको छ । यसलाई तपाई सडकले मागरिहेको भन्नुहुनछ भने तपाइको लागि न्यायपालिका के हो ? न्यायपालिका भनेको त बार र बेन्च दुवैको हुन्छ । यस्तो अवस्थामा तपाईको राजीनामाको विकल्प छैन । राजीनामा दिनुस्, मार्गप्रशस्त गर्नुहोस् । यो तपाइँको भलोको लागि हैन, यो नेपाली नागरिक लागि हो, यो न्यायिक संस्थाको लागि हो ।’

उनले अब प्रन्या जबराले राजीनामा नदिई न्यायालय नचल्ने बताए । ‘हिजो केही व्यक्ति विवादित थिए, तर आज संस्थामाथि प्रश्न उठेको छ,’ उनले थपे, ‘संस्था बचाउनको लागि ससम्मन राजीनामा दिनुस् ।’

यो आन्दोलनको एक मात्रै कारण प्रधानन्यायाधीशको गैरकानुनी कदम रहेकाे उनले बताए । प्रधानन्यायाधीशलाइ संविधानले न्यायपालिकाको नेताको रुपमा स्थापित गरेको  तर आज न्यायपालिका प्रधानन्यायाधीशकै कारणले संकटमा परेको उनकाे भनाइ थियाे ।

‘न्यायपालिकामा हिजो समस्या थियो । तर आज न्यायपालिकामा संकट आयो । विवाद पहिला पनि थियो । तर उहाँले आज संकट निम्त्याउनुभयो,’ त्रिपाठीले भने, ‘आज प्रधानन्यायाधीशले भन्नुहुन्छ मलाई संवैधानिक प्रक्रियाबाट हटाउ । तर उहाँलाई म प्रश्न गर्न चाहन्छु । उहाँले संविधानले तोकेको आफ्नो न्युनतम भूमिका के-के निभाउनुभयो? के उहाँले न्यायपालिकालाई सुनिश्चितता प्रदान गर्नुभएको छ ? आज उहाँको नेतृत्व पूर्ण असफल भइसकेको छ । आज उहाँकै कारणले इजलास बस्न सकेको छैन । उहाँकै कारण न्याय प्रक्रिया रोकिएको छ । आज न्याय पालिकालाई बाहिर कतैबाट खतरा छैन । यहाँ प्रधानन्यायाधीशकै आचारणबाट न्यायपालिकालाई खतरा पैदा भएको छ ।’

LIVE TV