२२ कार्तिक २०७८, सोमबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादका बावजुद आज पनि ७ मुद्धामा पेशी तोक्नुभएको छ ।

उहाँले सर्वोच्च अदालतमा आजको लागि ६ इजलासमा ७ वटा मुद्धा तोक्नुभएको हो । उहाँले आज तोक्नुभएको इजालस दुईवटा एकल रहेको छ भने अन्य ४ इजालस संयुक्त रहेका छन् । जसमा उहाँले आफ्नो लागि पनि इजलास तोक्नु भएको छ ।

पेशी तोकिएका सबै मुद्दा बन्दीप्रत्येक्षीकरणका रहेको बताइएको छ । उता बारका वकिलहरुले आजकै दिनबाट प्रधानन्यायाधीश जबरा बिरुद्ध कडा बिरोध जनाउने घोषणा गरिसकेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै आएका उनीहरुले जबराले राजीनामा दिनुपर्ने ९ कारण देखाउँदै आजबाट झनै सशक्त आन्दोलन गर्ने चेतावनी दिइसकेका छन् । उनीहरुले प्रधानन्यायाधीशको इजलास बहिष्कार गर्ने आइतबार नै घोषणा गरेका थिए ।

बारले गत बुधबारसम्म राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई ‘अल्टिमेटम’ दिएको थियो । उक्त अल्टिमेटमलाई जबराले बेवास्ता गरेपछि दोस्रो चरणको आन्दोलन कसरी गर्ने भनेर बारल तयारी गरिरहेको छ ।

LIVE TV