२१ कार्तिक २०७८, आईतवार

काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ मानुषी यमीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यमा रहेर आरोप लगाउन सुझाव दिएकी छन् ।

आइतबार अध्यक्ष ओलीले ‘बाबुराम भट्टराई भूमिगत हुँदा पनि उनका छोराछोरी बेलायत कसरी पढेका थिए ?’ भनेर प्रश्न उठाएपछि त्यसको जवाफमा नेतृ यमीले तथ्यमा रहेर आरोप लगाउन भन्दै राजनीतिलाई कतिन्जेलसम्म हावादारी र मजाक बनाउने भनेर प्रश्न गरेकी छन् ।

समाजिक सञ्जाल फेसबुक पेजमार्फत उनले भनेकी छन्, ‘पूर्व प्रम ओलीजी, अलिकति तथ्यसहित आरोप लगाउनु उपयुक्त होला । स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमाले २०४९ सालमा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो । २०५१ मै हामी दुवै नेपाल फर्किसकेका थियौँ । हामी कुन आम्दानीको स्रोतबाट गएका थियौं, त्यहाँ हामी कस्तो अवस्थाबाट गुज्रियौँ भन्ने कुरा आमाको हालै प्रकाशित आत्मकथा ‘हिसिला’ को पेज नं. ४६ देखि ५१ सम्म उल्लेख गरिएको छ । कष्ट गरेर पढ्नुहोला । राजनीतिलाई कतिञ्जेल यस्तै हावादारी र मजाकको विषय बनाउने ?’

छोरी मानुषीअघि जसपाको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो छोरी मानुषी यमी भट्टराई बेलायत पढ्न गएको प्रमाणित गर्न अध्यक्ष ओलीलाई चुनौती दिएका थिए ।

डा. भट्टराईले भनेका छन्, ‘मित्र खड्ग प्रसाद जी, पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेलासँगै गएर संगै फर्केकी हुन् । त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !’

ओलीले के भनेका थिए ?

आइतबार नेकपा एमाले कर्णाली प्रदेश कमिटीद्वारा आयोजित देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले माओवादी सशस्त्र विद्रोहको कुरा उप्काउँदै डा. भट्टराईमाथि खनिएका थिए ।

कार्यक्रममा उनले व्यंग्य बाणमार्फत् डा. भट्टराईलाई भूमिगत हुँदा कसरी बेलायतमा छोरी पढाइएको थियो ? भनेर भनेका थिए ।

ओलीले बोली जस्ताको तस्तै :

बाबुराम बाँचे, बाबुरामका छोराछोरी त बेलायत पढ्थे । बाबुराम भट्टराई भूमिगत हुँदा पनि उनका छोराछोरी बेलायत कसरी पढेका थिए ? हामी बेलायत जान भिसा पाउँदैनथ्यौँ। बाबुरामका छोराछोरीले भिसा पाउँथे । के जादु होला त्यसमा ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ, नागरिकता पाउन, पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको ? कहाँ भिसा लाग्यो ? बाबुरामजी बताउनुस् त ?

बेलायतमा २, ४, ५ लाख खर्च हुन्छ महिनाको । कहाँ कमाउनुभएको थियो भूमिगत हिँड्दाखेरि ?

प्रतिक्रिया दिनुहोस्

LIVE TV