२१ कार्तिक २०७८, आईतवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । तराईबासीको महान पर्व छठ पर्वका लागि चाहिने बाँसको दौरा, सुपुली तथा नाङ्गलोको व्यापार संकटमा पर्दै गएको छ । छठ पर्वमा अघ्र्य दिनका लागि प्रयोग हुने बाँसको दौरा, सुपुली, नाङ्गलोको विकल्पमा पितल, तामाको दौरा, सुपुली नाङ्गलो विक्री हुन थालेपछि बाँसको दौराको व्यापार संकटमा पर्दै गएको व्यापारीहरुको गुनासो छ ।

छठ पर्वलाई लक्षित गरेर वीरगञ्ज बजारमा अहिले छ्याप्छ्याप्ती रुपमा बाँसको दौरा, सुपुली र नाङ्गलो विक्रीका लागि राखिएको छ, तर विक्री भने न्यून रहेको उनीहरुको भनाइ छ । एउटा दौरा ३ सयदेखि ८ सय रुपैयासम्ममा विक्री भइरहेको छ, भने सुपुली ५० देखि १ सय ५० रुपैयासम्म विक्री वितरण भइरहेको छ ।

यसैगरि नाङ्गलो २ देखि ५ सय रुपैयासम्म विक्री वितरण भइरहेको छ । तर, सर्वसाधारणहरुको ध्यान बाँसको परम्परागत दौरा सुपुली नाङ्गलो नभई पित्तल तथा तामाको दौरा, सुपुली तथा नाङ्गलोतर्फ आकर्षण बढेकोले बाँसको दौरा सुपुलीको व्यापारमा कमी आएको व्यापारीहरुको भनाइ छ ।

छठ पर्वको लागि परम्परागत रुपमा बाँसको दौरा, सुपुली तथा नाङ्गलोको प्रयोग गरिँदै आएको छ । तर बढ्दो आधुनिकीकरणसँगै सर्वसाधारणहरुको ध्यान परम्परागत बाँसको दौरा सुपुली भन्दा पनि तामा, पित्तलको दौरा, नाङ्गलो, सुपलीतर्फ छ । जबकी तामाको यी सबै सामानको मूल्य ५ सयदेखि ५ हजारसम्म पर्छ ।

करिब ३÷४ दिनदेखि वीरगन्जको घण्टाघरमा बाँसको दौरा, नाङ्गलो बेच्दै आएका व्यापारीले छठ पर्वको बेला पुस्तौ पुस्तादेखि परम्पारगत रुपमा प्रयोग हुँदै आएको बाँसको दौरा सुपुलीतर्फको आकर्षण घट्दै गएको बताउँछन् । उनीहरुका अनुसार विकल्पमा तामा, पित्तलको सामानहरु आउन थालेपछि पुस्तौपुस्तादेखि चल्दै आएको परम्परा लोप हुने अवस्थामा पुगेको भन्दै दुःखेसो पोखे ।

बाँसको सामान बनाउने डोम समुदाययको पेसा नै बाँसको दौरा, सुपुली र नाङ्गलो बनाउने हो र यही छठ पर्वको बेला नै सबै भन्दा बढी विक्री हुने गर्दछ तर, अहिले जसरी आधुनिकीकरणसँगै तामा, पितलको सामान विक्री हुन थालेपछि डोम समुदायको पेशा पनि संकटमा पर्दै गएको छ ।

बाँसको दौरा प्रत्येक वर्ष किन्नुपर्ने हुन्छ भने पित्तल, तामाको दौरा एक पटक किने वर्षौं चल्ने तथा आकर्षित देखिने हुनाले पनि बाँसको दौराबाट सर्वसाधारणहरुको ध्यान हट्दै गएको छ जसबाट बाँसको दौरा बनाउने डोम समुदायको पेशा संकटमा पर्दै गएको उनीहरुको गुनासो छ ।

तराईमा डोम, मुसहर समुदायका व्यक्तिहरुलाई धेरैले घरमा प्रवेश गर्न दिदैनन्, तर यही बेला उनीहरुले आफ्नो हातले बनाएको बाँसको दौरा, सुपुली विना छठ पर्व पूरा नहुने मान्यता रहँदै आएको छ । बाँसको दौरा, सुपुली विना छठ छठ पर्व नै पुरा नहुने अवस्थामा बढ्दो आधुनिकीकरणसँगै सर्वसाधारणहरुले परम्परागत बाँसको सामान छाडेर तामा पित्तलको सामान प्रयोग गर्न थालेका छन् ।

जसबाट व्यापार मात्रै संकटमा परेको छैन, दलित समुदायको पेशा नै संकटमा पर्न थालेको छ । यति मात्रै होइन, हिन्दू समुदायको अधिकांश पूजा आजामा दलित समुदायका व्यक्तिले बनाएको बाँसको सामानको प्रयोग हुँदै आएको छ । डोम, मुसहरलगायतका दलित समुदायका व्यक्तिहरुले बाँसबाट उक्त सामग्रीहरु बनाएर आफ्नो जीविको पार्जन गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV