२१ कार्तिक २०७८, आईतवार

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका– ८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाको सहयोगका लागि रु १ लाख ७५ हजार सहयोग जुटेको छ ।

तिहारका अवसरमा देउसी-भैलो खेली सहयोग जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिनुभयो । गाईबाच्छा संरक्षणस्थलमै भएको देउसी भैलो कार्यक्रममा करिब २०० भन्दा बढी मानिसको सहभागिता थियो ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङ र वडा नं ८ का अध्यक्ष मनोज ढुङ्गाना, कागेश्वरी मनोहरा नगरपालिका–८ का अध्यक्ष श्रीप्रसाद चापागाईंलगायत स्थानीय तहका जनप्रतिनिधिको पनि देउसी भैलोमासहभागिता थियो ।

विभिन्न कारणले सडकमा छोडिएका १०० भन्दा बढी गाईबाच्छालाई अभियानकर्मीले संरक्षण गर्दै आएका छन् । संरक्षणस्थलमा गाईको सङ्ख्या थपघट भइरहने गरेको छ । विसं २०७५ जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी भागस्थित वाग्मती किनार नजिकको जग्गामा गाईबाच्छा संंरक्षण गरिएको थियो ।

कोरोना महामारीका कारण विसं २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी गरिएका बेला सडकमा गाईबाच्छा बढ्न थालेकाले कोषले गौशाला बनाउन जग्गा उपलब्ध गराएको थियो । यहाँ २०७७ जेठ २ गतेदेखि गाईबाच्छा संरक्षण सुरु गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

देउसी, भैलौ, जन्मदिनलगायतका दिन दाताले दिने सहयोगबाट १०० भन्दा बढी गाईबाच्छाको संरक्षण हुँदै आएको छ । अभियानमा केही अभियानकर्मीले स्वयंसेवीका रुमपा सहयोग गर्दै आएको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV