२१ कार्तिक २०७८, आईतवार

एजेन्सी । इराकका प्रधानमन्त्री मुस्तफा अल–खादिमीको हत्या प्रयास भएको छ । राजधानी बग्दादस्थित उनको आफ्नै निवासमा ड्रोन आक्रमण भएपछि आफू त्यहाँबाट भागेको उनले बताएका छन् ।

त्यहाँका अधिकारीहरुले राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको बताएका छन् । उक्त आक्रमणलाई ‘प्रधानमन्त्रीको हत्या गर्ने प्रयास’ भनिएको छ ।

बिबिसीका अनुसार उक्त आक्रमणपछि प्रधानमन्त्री अल–खादिमीलाई अस्पताल लगिएको थियो । तर उनले आफू घाइते नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले ‘इराकको हितका लागि सबैलाई शान्त र संयमित’ रहन समेत आह्वान गरेका छन् ।

सो आक्रमणमा प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएकामध्ये ६ जना सुरक्षाकर्मी भएको जनाइएको छ । मुख्य सरकारी भवनहरु र दूतावासहरू रहेको महत्वपूर्ण क्षेत्रमै देशका प्रधानमन्त्रीमाथि त्यसरी आक्रमण भएपछि त्यहाँ सुरक्षा चिन्ता थपिएको छ ।

तर आक्रमणको जिम्मा भने अहिलेसम्म कसैले लिएको छैन । यस घटनाको निन्दा गर्दै अमेरिकाले अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV