२१ कार्तिक २०७८, आईतवार

काठमाडौं । स्पेनिस ला लिगमा बार्सिलोनाले सेल्टा भिगोसँग बराबरी खेलेको छ । गएराति सेल्टा भिगोको मैदानमा भएको खेलमा दुई टोलीबीच बराबरी भएको हो । पछिल्लो चार खेलमा जित निकाल्न नसकेको बार्सिलोना सेल्टा भिगोसँगको खेलमा जित निकाल्न चाहन्थ्यो । तर बार्सिलोना असफल रह्यो ।

खेलको पहिलो हाफमै बार्सिलोनाले ३ ० को नतिजा बनाएको थियो । दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा उसले बराबरीमै चित्त बुझाउन बाध्य भयो ।

बार्सिलोनाका लागि पाँचौं मिनेटमा अन्सु फातीले गोल गरेका थिए । त्यस्तै दोस्रो गोल १८ औं मिनेटमा सर्जियो बुस्केट्सले गरे । र, तेस्रो गोल खेलको ३४औं मिनेटमा अल्बाकै क्रसमा मेम्फिस डिपाए गरेका थिए । उनको गोलसँगै बार्सिलोना जितको लयमा थियो ।

तर हाफ पछिको समय बार्सिलोनाको लागि दुर्भाग्य बन्यो । उसले हाफपछि समान ३ गोल खाएर बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो । सेल्टा भिगोका तर्फबाट खेलको ५२ औं मिनेटमा सेल्टा भिगो इयागो आसपासले पहिलो गोल गरेर बार्सिलोनासँगको दुरी घटाए ।

त्यस्तै ७४औं मिनेटमा डिएगो नोलिटोले हेडरमार्फत गोल गरेर ३-२ को अवस्था बनाए । त्यस्तैगरी इन्ज्युरी समयमा आसपासले गोल गर्दै नतिजा बराबरी बनाएका थिए ।

खेल बराबरीमा सकिएसँगै बार्सिलोना १२ खेलमा १७ अंक जोड्दै नवौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV