२१ कार्तिक २०७८, आईतवार

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन ।

हिजोआज उहाँ अलैँची टिप्न र सुकाउनमै व्यस्त हुनुहुन्छ । लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उहाँले वार्षिक करिब नौ मन अलैँची उत्पादन गर्दै आउनुभएको छ ।

फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ ।

पाकेको अलैँची घरमा भित्रयाउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उहाँले वर्षमा करिब १३ मनसम्म अलैँची बिक्री गर्दै आउनुभएको छ ।

तिहारको बेला ताप्लेजुङका किसानलाई अलैँची घरमा भित्र्याउन चटारो छ । अलैँची पाक्ने याम सुरुभएसँगै यहाँका किसानको व्यस्तता बढेको छ ।

बेँसीमा लगाइएको अलैँची चाँडो पाकेपनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम भने मङ्रि अन्तिम सातासम्म नै लाग्छ ।

सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैँची भदौदेखि टिप्न थाल्ने बताउँछन् ।

“बेँसीमा प्रायः भदौ र असोजभित्र अलैँची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मङ्सिरसम्म अलैँची टिप्न चटारो हुन्छ”, राईले भन्नुभयो । केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागेको छ ।

तर पनि यसखेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैँची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिकारुपमा प्रयोग गरिने अलैँची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ ।

अलैँची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताउनुभयो।

LIVE TV