२० कार्तिक २०७८, शनिबार

काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्वकपको एशिया छनोटको तयारीमा रहेको नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले जित निकालेको छ । नेपाली महिला टिमले बंगलादेशमा पहिलो जीत हात पारेको छ ।

छनोट अघिको अभ्यासका लागि नेपाली टिम यतिबेला बंगलादेशको राजधानी ढाकामा रहेको छ । शनिबार भएको बंगबन्धु बीकेएसपी कप सिरिजमा नेपालले बीकेएसपीलाई २४ रनले पराजित गरेको हो । नेपालले दिएको ७३ रनको लक्ष्य पछ्याएको बीकेएसपीले ४८ रन मात्र बनाउन सक्यो ।

ओपनर फरजाना लिसाले २५ रन बनाउनु बाहेक बीकेएसपीका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालकी संगिता राईले सर्वाधिक ४ विकेट लिइन्, भने सरस्वती भण्डारी, कविता कुवँर, सीता राना र रुबिना क्षेत्रीले समान १–१ विकेट हत पारे ।

त्यस्तै सुरुवाती ब्याटिङ्ग गरेको नेपालका लागि कबिता जोशीले सर्वाधिक २३ रन बनाइन्, भने रुबिना क्षेत्रीले १६ रन बनाएको इनिङ्समा काजल श्रेष्ठले १२ रन बनाइन् ।अर्कोतर्फ बंगलादेशी टिमकी दिशाले ३ र सानुले १ विकेट हात पारिन् ।

विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले बंगलादेशमा एक हप्ता अभ्यास गर्नेछ । त्यहाँ रहदा नेपालले चार म्याचको सिरिज खेल्ने बताइएको छ । बंगलादेशको तयारी सकेर नेपाली टिम युएई प्रस्थान गर्नेछ । छनोट प्रतियोगिता यूएईमा नोभेम्बर १९ देखि २९ गतेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV