२० कार्तिक २०७८, शनिबार

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा हिलिहाङ दरबार निर्माणको बिहीबार शिलान्यास गरिएको छ ।

हिलिहाङ–४ मा रहेको हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा प्यागोडा शैलीमा निर्माण गर्न लागिएको हिलिहाङ दरबारको पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले शिलान्यास गर्नुभयो ।

नेपाल एकीकरणपूर्व लिम्बुवानको अन्तिम राज्यका रूपमा रहेको याङवरक थुम (जिल्ला)को हस्तपुर गढीमा रहेको राजा हिलिहाङको दरबारको भग्नावशेष नजिकै ऐतिहासिक दरबारको निर्माण हुन लागेको हो ।

सङ्घीय सरकार र हिलिहाङ गाउँपालिकाको साझेदारीमा रु दुई करोड ५१ लाख ६८ हजार ३१८ को लागतमा दरबार निर्माण हुन लागेको हो ।

दरबार निर्माण कार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७० प्रतिशत र हिलिहाङ गाउँपालिकाले ३० प्रतिशत लागत बेहोर्ने साझेदारी भएको छ ।

दरबार निर्माणको ठेक्का इलामको भगवती बौद्ध जेभीले पाएको छ । हिलिहाङ गाउँपालिकाका अनुसार गत असोज १८ गते गाउँपालिका र निर्माण कम्पनीबीच आगामी २०८० माघ २५ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता भएको छ ।

हिलिहाङ गाउँपालिका र हिलिहाङ फाउण्डेसनले बिहीबार दरबार क्षेत्रमा राजा हिलिहाङको २९५औँ जन्मजयन्तीका अवसरमा दरबार निर्माण शिलान्यास कार्यक्रम आयोजना गरेका थिए ।

सो अवसरमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य नेम्वाङले अघिल्लो सरकारले थालनी गरेको भौतिक पूर्वाधार विकासको महाभियानले संस्कृति र इतिहासको संरक्षण र प्रवद्र्धन तथा पर्यटन विकासमा ठूलो मद्दत गर्ने बताउनुभयो ।

उहाँले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाको संरक्षणमार्फत पर्यटन प्रवद्र्धन गरी स्थानीयवासीको आयआर्जन अभिवृद्धि गर्न सकिने संसारभरिको प्रचलनका आधारमा अगाडि बढ्नु नै नेपालका लागि समेत हितकर हुने बताउनुभयो ।

“इतिहासमा सीमित हुन लागेको हिलिहाङ दरबार क्षेत्रलाई पुरातात्विक सम्पदा तथा पर्यटकीय गन्तव्य बनाउन मेरै पहलमा पुरातत्व विभागले उत्खनन गरेपछि यस क्षेत्रमा सरकारको नजर परेको हो”, नेम्वाङले भन्नुभयो, “अब यस क्षेत्रको विकासले बाटो समातेको छ, त्यो रोकिनु हुँदैन ।” पटक–पटक पृथ्वीनारायण शाह नेतृत्वको नेपाल एकीकरण अभियानसँग हारजित नभएको अवस्थामा राजा हिलिहाङले नेपाल एकीकरणलाई सार्थकता दिन महत्वपूर्ण योगदान पु-याएको स्मरण गर्दै पूर्वमन्त्री नेम्वाङले उहाँको जन्मोत्सवले राष्ट्रिय एकता सम्वद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा तत्कालीन लिम्बुवान क्षेत्रका खोजकर्ता प्रा डा नारायण सङ्ग्रौलाले इतिहासमा सीमित भएका सबै विषयमा खोज गर्ने, पुरातात्विक सम्पदाको संरक्षण गर्ने र परम्परागत शैलीमा संरचना निर्माण गर्ने कार्यले इतिहासको जगेर्ना, पर्यटन प्रवद्र्धन र राष्ट्रिय एकताको विकासमा सहयोग गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले राजा हिलिहाङको जन्मजयन्तीलाई राष्ट्रिय पर्वका रूपमा मनाई उहाँले नेपालको वर्तमानस्वरूप निर्माणमा गर्नुभएको योगदानको सम्मान गर्नुपर्ने बताउनुभयो ।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनका अनुसार गाउँपालिका स्थापनापछि दरबार क्षेत्रको विकासमा गाउँपालिका र हिलिहाङ फाउण्डेसनले सहकार्य गर्दै आएका छन् । यस क्रममा दरबार क्षेत्रमा सङ्ग्रहालय र खेलमैदान निर्माण सम्पन्न भएको छ ।

करिब रु तीन करोडको लागतमा सङ्ग्रहालय निर्माण भएको हो । हिलिहाङ क्षेत्रको प्रचारका लागि तीन वर्षअघि गाउँपालिकाले महोत्सव सम्पन्न गरेको थियो ।

हिलिहाङ फाउण्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङका अनुसार फाण्डेसनले दरबार क्षेत्रमा राजा हिलिहाङको शालिक निर्माण गरेको छ भने हिलिहाङ क्षेत्रको प्रवेशद्वार र प्रवेशद्वारमा शालिक स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ ।

बिहीबार आयोजित कार्यक्रममा राजा हिलिहाङको शालिकमा माल्यार्पण गरिनुका साथै सहभागीले उहाँले शक्ति प्राप्त गर्ने दरबार भग्नावशेषसँगै रहेको शक्तिपीठको दर्शन गरेका थिए ।

कार्यक्रममा याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङ, नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङ, लिम्बुवान पक्षधर नेत्री शान्ता योङहाङलगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा हिलिहाङ फाउण्डेसनले राजा हिलिहाङको प्रथम मूर्तिकार काठमाडौँका चङ्खे नगरकोटीसहित हिलिहाङ क्षेत्रको विकासमा क्रियाशील स्थानीय युवा सूर्य योङहाङ, विनोद योङहाङ र वसन्त योङहाङलाई सम्मान गरेको थियो ।

विसं १७८३ कात्तिक १८ गते तत्कालीन योङहाङ राजपरिवारमा जन्मिनुभएका हिलिहाङले १८१४ मा राजगद्दी सम्हाल्नुभएको इतिहास छ । नेपाल एकीकरण अभियानमा लागेका पृथ्वीनारायण शाह नेतृत्वको फौजसँग हिलिहाङ राजाका सेनाले १७ पटक लडाइँ गरेको र हारजित नभएपछि १८३१ साउन २२ गते सम्झौता ९लालमोहर० भएको थियो ।

हिलिहाङकी एक चेलीको विवाह तत्कालीन सिक्किमका राजासँग भएको थियो । त्यसैले याङवरक थुमलाई लडाइँमा सिक्किमले सहयोग गर्दथ्यो ।

नेपाल एकीकारणका क्रममा लामो समयसम्म युद्ध भएर कुनै पक्ष नहारेको अवस्थामा दुवै पक्षबाट दूरदर्शिता देखाई अन्त्यमा सन्धि ९सम्झौता० भएको इतिहासमा भेट्न सकिन्छ ।

लडाइँ र सङ्घर्षका बीचमा राजा पृथ्वीनाराणय शाह र हिलिहाङ राजाबीच औपचारिक अनौपचारिक धेरै सन्धि ९सम्झौता० भएका थिए ।

सम्झौतामध्ये सबैभन्दा बढी चर्चित विसं १८१४, १८३१ र १८४२ मा भएका सन्धि थिए ।

सन्धिअनुसार स्थानीय क्षेत्रका अधिकार हिलिहाङ राजाले सञ्चालन गर्न पाउने र गोर्खालीलाई केन्द्रीय राज्य मान्ने तथा राजाहरुबीच दाजुभाइको सम्बन्ध रहने सन्धि भएको थियो । अर्थात् शाहहरु र योङहाङ राजखान्दानी दाजुभाइ रहने गरी नेपाल एकीकरणको खाका कोरेका थिए ।

विशेषतः राजा हिलिहाङले नेपालको एकीकरण अभियानलाई सार्थक बनाउन गरेको मद्दतको सम्मान हुनुपर्ने यहाँका सरोकारवालाको जोड छ ।

हिलिहाङका सेनापतिको नाम नाम्दीहाङ ९काङ्शोरे० थियो । हिलिहाङले ३१ वर्षको उमेरमा विसं १८१४ मा शासन हात लिएर विसं १८१४ देखि १८४२ सम्म २८ वर्ष शासन गरेको इतिहासमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV