२० कार्तिक २०७८, शनिबार

महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ ।

भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ ।

यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूको पर्व मनाउने पौराणिक कथावस्तु भने एउटै देखिन्छ । अघि सत्ययुगमा राजा वलिका बहिनी गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउनुहुन्छ ।

भैयादुज पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्छन् । विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर आउपछि दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो)ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइलाई बसाउँछन् । टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छ । यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइदिने गरिन्छ ।

यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको पनि होस् भन्दै गीतबाट भाव व्यक्त गर्दछन् । यसैक्रममा सुकेको केराउको दाना दाजुभाइलाई चपाउन दिइन्छ । ‘बजरी’ ख्वाइने भनिने यो विधिमा साह्रो न साह्रो केराउलाई बज्रसँग तुलना गरेर बजरी भनिएको डा विमलको भनाइ छ । बजरी ख्वाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने कामना रहेको उहाँ बताउनुहुन्छ । यो विधि सकिएपछि दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राख्छन् । दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्ठान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् ।

पौराणिक गाथामा आधारित

मिथिलामा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बनाउने तीनवटा परम्परागत पर्व छन् । साउन पूर्णिमाका दिन दाजुभाइलाई सप्तरङ्गी डोरो (राखी) बाँधीदिने र यमपञ्चक अर्थात् तिहारको कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भैयादुजको कथावस्तु पौराणिक गाथामा आधारित राजा वलि र उनका दिदीबहिनी गङ्गा–यमुना नै हुन् । कार्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व भने द्वापरयुगकालीन भगवान् श्रीकृष्णका पुत्र साम्ब र छोरी सामाबीचको प्रेमपूर्ण स्नेह, समर्पण र त्यागको कथावस्तुमा आधारित भएको डा विमल बताउनुहुन्छ ।

पछिल्ला वर्षहरुमा मिथिलाका मूल बासिन्दा र यहाँ बसोबास गर्न आएका अन्य जाति, धर्म, परम्परा र संस्कृतिका विभिन्न समुदायबीच सांस्कृतिक घुलमिलले चाडबाडहरू साझा बन्दै गएका छन् । पर्वते हिन्दू परम्पराको भाइटीका र मैथिल परम्पराको भैयादुज मनाउन दिदीबहिनी र दाजुभाइ मानेर फरक–फरक परम्पराका युवापुस्ता एकसाथ पर्व मनाउन थालेका छन् । आपसी सद्भाव वृद्धि र सामाजिक, सांस्कृतिक एकताको जग मजबुत बनाउन यसले सहयोग पु¥याइरहेको पाका मैथिल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV