१९ कार्तिक २०७८, शुक्रबार

काठमाडौँ । सरकारले नेपालमा जोखिमयुक्त क्षेत्र पहिचान एवं निर्धारण गरी हैजाविरुद्धको खोप लगाउने भएको छ ।

यसका लागि विश्व स्वास्थ्य संगठनको सहयोगमा २ लाख ५२ हजारभन्दा बढी खोप नेपाल आउने निश्चित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार ‘ओरल कोलेरा भ्याक्सिन’ नाम हैजाविरुद्धको खोप पाउनका लागि नेपालले गरेको प्रयास सफल भएको हो ।

खोप आएपछि सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका र हैजाको प्रकोप देखिएका तथा अति जोखिमयुक्त क्षेत्रहरु पहिचान गरेर मात्र उपलब्ध गराइने जनाइएको छ ।

हैजाविरुद्धको खोप एकपटक लगाएपछि पाँच वर्षसम्म ढुक्क भइने जनाइएको छ । हैजाको समयमै उपचार तथा रोकथाम नगरिए बिरामीको मृत्यु हुने र महामारी नै फैलने हुन्छ । हाल बर्सेनि १३ लाख देखि ४० लाख मानिस हैजाबाट प्रभावित हुने गरेकोमा तीमध्ये २१ हजारदेखि डेढ लाख मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

LIVE TV