
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस महाधिवेशन समयमै हुने बताउनु भएको छ ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले अधिवेशन समयमै हुनेमा शंका नगर्न आग्रह गर्नुभयो । उहाँले अरुले जे भने पनि नपत्याउन आग्रह गर्नुभयो ।
‘जसले जे भनेपनि नपत्याउनुस् । अधिवेशन समयमा हुन्छ। अब महाधिवेशन पार्टी सभापतिको हातमा छैन। निर्वाचन समितिको हातमा छ,’ उहाँले भन्नुभयाे ।
उहाँले आफूले मात्रै चाहेर महाधिवेशन नहुने तर महाधिवेशन गर्ने निकायहरु भने प्रतिबद्ध भएकाले समयमै अधिवेशन हुने सुनाउनुभयो ।
सभापति देउवाले १४ औं महाधिवेशन मंसिर २४–२६ मा कुनै हालतमा सम्पन्न गर्नेगरी निर्वाचन समितिलाई निर्देशन दिएको बताउनुभयो ।
प्रतिस्पर्धा गर्दा जित र हार हुने भन्दै दुस्मनी बढाउन नहुने बताउँदै उहाले जित्नेले हार्नेको सहयोग लिने र हार्नेले जितेकालाई साथ दिनु बताउनुभयो । उहाँले जित र हारकै कारण पार्टीमा दुस्मनी हुन नहुने बताउनुभयो ।