१८ कार्तिक २०७८, बिहीबार
  • रामगोपाल तमखु

भक्तपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको दम्भकै कारण एमालेले केन्द्रीय सरकार र प्रदेश सरकार गुमाउनु परेको आरोप लगाउनुभएको छ ।

आज भक्तपुरको मध्यपुर थिमिमा भएको तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले बामपन्थीहरुको दुईतिहाईको केन्द्रीय सरकार र प्रदेश सरकार ओलीकै कारण गुमाउनु परेको बताउनु भएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले नवौं महाधिवेशनमा ओलीलाई पार्टीका साथीहरुले जिताएर भूल गरेको र त्यहि दिन देखि एमाले पार्टीको दुर्भाग्य सुरु भएको टिप्पणी गर्नुभयो ।

एमाले पार्टीले गलत बाटो लिन थालेपछि पार्टीभित्र आफूहरु निसास्सिएर बस्नै नसक्ने अवस्था आएपछि नयाँ पार्टी खोल्न बाध्य भएको बताउँनुभयो । उहाँले भन्नुभयो ओलीले पार्टीलाई गलत बाटो लैजान थालेपछि निसास्सिएर हिडेका हौँ ।

ओली जस्तै काम नगर्ने र गफ मात्रै दिने पार्टी आफ्नो नभएको भन्दै उहाँले एमाले पार्टीमा रहेका असन्तुष्टिहरुलाई आफ्ना पार्टीमा फर्किएर आए स्वागत गर्ने बताउनुभयो ।

साथै उहाँले आफ्नो पार्टीबाट सरकारमा सहभागी भई मन्त्री बनेकाहरुले नराम्रो काम गरेमा तत्काल कारवाही गरी मन्त्री पदबाट हटाउने समेत बताउनुभयो ।

राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचन चैतमा हुने बताउँदै उक्त निर्वाचन र केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा पाँच दलको गठबन्धन हुने र यसलाई कसैले भत्काउन र टुटाउन नसक्ने पनि उहाँले बताउनुभयो ।

नेपालले केन्द्रको निर्वाचन समयमै हुने र त्यसमा पनि गठबन्धन बनाएर अघि बढ्ने बताउनुभयो । आगामी निर्वाचनमा आफूहरुलाई इश्र्या गर्नेहरुको हालत खत्तम हुने पनि उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV