१८ कार्तिक २०७८, बिहीबार
  • सुमन कार्की

पाल्पा । कुनै समय करेसाबारी र आँगनको शोभाका रुपमा लगाइने फूल अहिले व्यावसायिक रुपमा लगाउन थालिएको छ । विशेषगरी तिहारमा फूलको मालाको प्रयोग हुने, शुभ विवाह तथा विभिन्न उत्सव कार्यक्रममा समेत फूलकै मालाको प्रयोग बढ्न थालेपछि व्यावसायिक रुपमा फूलको खेती सुरु हुन थालेको हाे ।

जिल्लाको माथागढी गाउँपालिका वडा नं. २ रूप्सेमा अहिले व्यावसायिक रुपमा फूलको खेती गरिएको छ । तिहारको आगमनसँगै फूलको मालाको माग अत्याधिक बढ्ने भएकाले उत्पादनमा समेत वृद्धि भएको छ । यतिखेर रुप्सेका दमोदर घर्तीको घर नजिकै खेतमा रहरलाग्दो ढकमक्क सयपत्री फूल फुलेका छन् । फूल खेतीले नै राम्रो आम्दानी गर्न सकिने हुनाले माराखोप बहुउद्देश्यीय कृषि नामको फर्म नै दर्ता गरी उनले ५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका छन् ।

माध्यमिक तहको पढाइ सकेर रोजगारीको सिलसिलामा ४ वर्ष भारतमा बिताएका घर्तीले सामाजिक सञ्जालबाटै सिकेर फूल खेती गरेको बताए । बजारमा विशेष गरी तिहारको बेला कृत्रिम रबर तथा प्लाष्टिकका फूल र मालाले वर्चस्व कायम गरिरहेको अवस्थामा ती फूललाई निरुत्साहित गर्न आफूले व्यावसायिक रुपमा फूल खेती गरेको उनकाे भनाइ छ ।

महामारीकाे प्रभाव

घर्तीले माराखोप बहुउद्देश्यीय कृषि फर्म दार्ता गरी पहिलो वर्ष २ रोपनी क्षेत्रफलमा फुलखेती गरे तापनि कोरोना महामारीका कारण सोचेजति राम्रो बजारीकरण नभएकाे बताए । तापनि यो वर्ष ५ रोपनी क्षेत्रफलमा फूलखेती विस्तार गरी उत्पादन गरेका छन् । उनको फर्ममा दैनिकजसो फूल खेती हेर्न आन्तरिक पर्यटकहरु  आउने गरेको र फूलमालाको समेत राम्रो माग भएको कारण बजारीकरणमा कुनै समस्या नभएको बताउछन् । आफूले उत्पादन गरेको फूल सदरमुकाम तानसेन र रूपन्देही जिल्लामा खपत हुने गरेको घर्तीले बताए ।

फूल लिन घरमै आउँछन्

जिल्लाको सदरमुकाम र विभिन्न स्थानका बजारबाट फूल लिन घरमै समेत आउने गरेका छन् । माग अनुसार जिल्लामा फुल उत्पादन हुन नसक्दा वजारमा कृत्रिममालाले स्थान पाएको छ । घर्तीले यसअगी आफ्नो खेतमा धान उत्पादन गर्दै आएकोमा धान खेतीबाट भन्दा राम्रो आम्दानी फूल खेतीवाट हुन थालेपछि धान खेती छोडेर व्यवसायीक रुपमै फूल खेती गर्न थालेका हुन् । अहिले एउटा मालालाई ५० देखि २ सय र प्रति के.जि ४०० सय रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको उनी बताउँछन् ।

३ लाख नाफाकाे लक्ष्य

गत वर्ष फुल बिक्रीवाट उहाँले कोरोना माहामारीको समयमा पनि ५० हजार रुपैयाँ चोखो नाफा गर्न सफल भएको र यसपटक ३ लाखको लक्ष्य रहेको घर्ती बताउछन् । घर्तीलाई आफुसंगै परिवारलेपनि फर्ममा काम गर्न सगाउदै आएका छन् ।

गाउँपालिकाले समेत यो वर्ष फुल खेति नर्सरीका लागि घर्तीलगायत अन्य व्यावसायिक फूल खेती गर्नेहरुका लागि रु ५० हजार अनुदान सहयोग गरेको माथागढी गाउँपालिकाले जनाएको छ ।

थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ लाग्न अन्य कृषकलाई समेत घर्ती प्ररणादायी वनेका छन् । यस वर्ष बेमौसमी वर्षाका कारण फुल खेतिलाई पनि असर गरेको कारण सोचे जति आम्दानी नहुने हो कि भन्ने चिन्ता किसानहरुमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV