१८ कार्तिक २०७८, बिहीबार

एजेन्सी । यस वर्षको बुकर पुरस्कार दक्षिण अफ्रिकी लेखक डेमन गाल्गटलाई प्रदान गरिएको् छ । उनको ‘द प्रमिस’ नामक उपन्यासका लागि यो वर्षको बुकर पुरस्कार प्रदान गरिएको हो ।

सन् २००३ र सन् २०१० मा पनि उक्त पुरस्कारका लागि मनोनयनमा परेका गाल्गटले बुधवार एक समारोहबीच ५० हजार पाउन्डको बुकर पुरस्कार हात पारेका हुन् ।

‘द प्रमिस’ उनको नवौँ उपन्यास हो । त्यसमा गएको चार दशकको अवधिमा एउटा दक्षिण अफ्रिकी परिवारको पतनको आख्यान बुनिएको बताइन्छ ।

गाल्गटको कृतिमा अद्वितीय कथा, समृद्ध विषयवस्तु र दक्षिण अफ्रिकाको विगत ४० वर्षको इतिहास समेटिएको निर्णायक मण्डलका अध्यक्ष माया जेसन्अफले बताएकी छिन् । उनले उक्त उपन्यास एक ‘कुशल उपलब्धि’ रहेको समेत बताइन् ।

यस उपन्यासको शीर्षक ‘द प्रमिस’ले एउटा श्वेत परिवारले आफ्नी अश्वेत (काली) सेविकालाई घरजग्गा दिन व्यक्त गरेको वाचालाई जनाउँछ । उक्त उपन्यास प्रकाशित भएदेखि नै निकै चर्चा पाएको र रुचाइएको थियो ।

यो वर्ष अ प्यासेज नोर्थ (अनुक अरुप्राग्सन), नो वन इज टकिङ अबाउट दिस (प्याट्रिसिया लक्उड), द फोर्ट्यून मेन (नादिफा मोहम्मद), बिवाइल्डरमन्ट (रिचर्ड पावर्स) र ग्रेट सर्कल (म्यागी शिपस्टीड) लगायत आख्यान बुकर पुरस्कारका लागि मनोनयनमा परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV