१७ कार्तिक २०७८, बुधबार

कास्की । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले सञ्चार क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीको पाँचौ जिल्ला अधिवेशनको आज पोखरामा उद्घाटन कार्यक्रममा उनले प्रेसलाई नियमन आवश्यक रहे पनि अङ्कुश लगाउन नहुने बताए ।

प्रेसका समस्या हल गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले भने, “अहिले प्रेसका सम्बन्धमा ऐन, कानून र नियमनका कुरा उठेका छन् । कानूनभित्र रहने कुरालाई सबैले मान्नुपर्दछ । प्रेसलाई नियमन गर्नुपर्दछ तर अङ्कुश लगाउनुहुँदैन । यसको भूमिकालाई खुम्च्याउने, अपमानित गर्ने र निरुत्साहित गर्ने प्रवित्तिलाई रोक्नु आवश्यक छ ।”

मन्त्री पौडेलले बलिदानी पूर्ण सङ्घर्षबाट स्थापित प्रेस सेन्टर नेपालले जनपक्षीय पत्रकारिता र अग्रगमनको अगुवाइ गर्न सक्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले प्रदेश सरकारले सञ्चार क्षेत्रलाई प्राथमिकतामा राखेर खोप, पूर्वाधार र तालिमलगायतका सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा प्रेस सेन्टरका अग्रज कोमलनाथ बराल, गण्डकी प्रदेशका इञ्चार्ज त्रिभुवन पौडेल, प्रदेश संयोजक अर्जुन काफ्ले पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले प्रेस स्वतन्त्रताका लागि सरकारले भूमिका खेल्नुपर्ने र प्रेसमैत्री कानून निर्माण गर्नुपर्ने बताए ।

LIVE TV