१७ कार्तिक २०७८, बुधबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) माथि यूरोपेली संघले लगाएको प्रतिबन्ध फुकुवाका लागि पहल गर्न बेलायतको हाउस अफ लर्ड्सकी सांसद्‍ ब्यारोनेस वर्मासँग अनुरोध गरेका छन् ।

बेलायतको लण्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) मा नेपाली पर्यटन व्यवसायीहरूसहित सहभागी भएका मन्त्री आलेले सांसद वर्मासँग मंगलबार भएको भेटमा एयरलाइन्सको फुकुवा गर्न आग्रह गरेका हुन् ।

यूरोपेली संघले एयरलाइन्समाथि सन् २०१३ मा प्रतिबन्ध लगाएको थियो । जसका कारण नेपालले पर्यटक भित्राउन नसक्दा क्षति व्यहोर्दै आएको छ ।

नेपाल मामलामा जानकार रहेकी सांसद्‍ वर्मालाई भेटेका पर्यटनमन्त्री आलेले पछिल्लोपटक उड्डयन क्षेत्रमा नियमनकारी र सेवाप्रदायक गरी दुईवटा निकाय बनाउन लागिएको बारे पनि जानकारी गराएको बताइएको छ ।

मन्त्री आलेले अर्न्तराष्ट्रिय उड्डयन संगठन (आइकाओ) एयरलाईन्समाथि औँल्याएका धेरै मुद्दामा सुधार गरेको पनि भनेका छन् ।

यसैगरी सांसद वर्मासँगको आधा घन्टाको कुराकानीमा मन्त्री आलेले नीजगढ विमानस्थल निर्माणका लागि बेलायतको सहयोगको अपेक्षा पनि राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV