१७ कार्तिक २०७८, बुधबार

काठमाडौं । न्यायालयमा विवाद उत्पन्न हुनुअघि चुप बसेका दलनिकट वकिल संगठनहरू बल्ल बाेल्न थालेका छन् । बुधबार  नेपाली कांग्रेस र नेकपा एमालेनिकटका वकिल संगठनहरुले मुख खोलेका छन् ।

बुधबार दुबै दलनिकटका वकिल संगठनहरुले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणाले गल्ती गरेको स्वीकार्दै न्यायालयलाई निकास दिनुपर्ने र मुद्धाको सुनुवाई स्थगित गरेर सडकमा जानु धर्म र विवेक नभएको भनिएको छ ।

सत्तारूढ दल कांग्रेसनिकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसनका (डिएलए)का अध्यक्ष योगेन्द्र बहादुर अधिकारी र महासचिव लक्ष्मीदेवी रावलले जारी गरेको विज्ञप्तिमा न्यायाधीशहरु कार्य सम्पादनप्रति कर्तव्यपरायण रहनुपर्ने भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतका माननीय न्यायाधीशहरू आफ्नो आधारभूत कार्य सम्पादनको कार्यमा कर्तव्यपरायण रहनुपर्ने कार्यलाई पन्छाउँदै छलफल र संवादका नाममा यति लामो समयसम्म मुद्दाको सुनुवाइबाट आफूलाई अलग राख्नु सर्वथा न्यायिक धर्म र विवेकपूर्ण निर्णय होइन भन्ने हाम्रो ठम्याइ छ। न्यायिक नेतृत्वले पनि यस्तो परिस्थितिको सृजना हुनका कारणको पुनरावलोकन गर्नुपर्दछ भन्ने हाम्रो मान्यता छ।’

यता, प्रतिपक्ष दल एमालेनिकट प्रोग्रेसिभ एण्ड प्रोफेसनल लयर्स एसोसिएसनकी (पिपिएलए) की अध्यक्ष रमा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रधानन्यायाधीशलाई गल्ती स्वीकार्दै न्यायालयमा उपयुक्त निकास निकाल्न भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतका माननीय न्यायाधीशहरू आफ्नो आधारभूत कार्य सम्पादनको कार्यमा कर्तव्यपरायण रहनुपर्ने कार्यलाई पन्छाउँदै छलफल र संवादका नाममा यति लामो समयसम्म मुद्दाको सुनुवाइबाट आफूलाई अलग राख्नु न्यायिक धर्म र विवेकपूर्ण निर्णय होइन । न्यायिक नेतृत्वको जिम्मेवारी लिनु भएका सम्माननीय प्रधानन्यायाधीशज्यूले यस्तो परिस्थितिको सृजना हुनका कारणको पुनरावलोकन गरी आफूले गरेका गलत कार्यहरूको जिम्मेवारी स्वीकार गरी उपयुक्त निकास निकाल्नु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV