१७ कार्तिक २०७८, बुधबार

काठमाडौं । लिटल स्टार तेक्वान्दो डोजाङले नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वयलाई सम्मान गरेको छ । बुधबार आयोजित दीक्षान्त समारोहमा लिटल स्टार तेक्वान्दोले महिला तेक्वान्दो खेलाडी आयशा शाक्य र निशा दर्नाललाई सम्मान गरेको हो ।

१३ औँ दक्षिण एसियाली खेलकुदमा दुई छोराकी आमा आयशाले दुई स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै सोही सागमा निशाले पनि नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । प्रशिक्षण शिविरमा रहेकी हुनाले निशा सो समारोहमा उपस्थित हुन सकिनन् ।

उनका भाइले निशाको सम्मान ग्रहण गरेका थिए । सोही अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी र दक्षिणी मोहडाबाट सफल आरोहण गर्ने विश्वको पहिलो महिला पत्रकार कल्पना महर्जन र आठ वर्षकै उमेरमा ब्ल्याक बेल्ट हासिल गर्ने दिग्विजय महर्जनलाई पनि सम्मान गरिएको छ ।

दिग्विजय विश्व कीर्तिमानी आरोही पत्रकार सम्मानित कल्पनाका छोरा हुन् । लिटल स्टार तेक्वान्दोले दिग्विजयलाई नेपालकी सबभन्दा कान्छो उमेरका तेक्वान्दो ब्ल्याकबेल्टधारी भएको दाबी गरेको छ ।

सो कार्यक्रममा लिटल स्टार तेक्वान्दो डोजाङमा ब्ल्याक बेल्टमा दीक्षित भएका २५ जना तेक्वान्दो खेलाडीलाई प्रमाणपत्र वितरण गरेको थियो । त्यस्तै उक्त सम्मान समारोहमा तेक्वान्दो खेलाडीहरुको समूह कपन टाइगर्सले मनारोञ्जनात्मक प्रस्तुति दिनुका साथै दीक्षित भएका तेक्वान्दो खेलाडीले आफ्नो खेल कौशलको प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV