१७ कार्तिक २०७८, बुधबार
  • तारा आचार्य,

विराटनगर । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विजय गच्छेदारले नेपाली कांग्रेसभित्र आफ्नै कार्यकर्ताहरुलाई पाखा लगाउने गरी विधान, नियमावली र निर्देशिका बनाउने कार्य भइरहेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

विराटनगरमा बुधबार नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति गच्छेदारले पार्टीको तहगत निर्वाचनमा भाग लिनबाट बन्चित गराउन विधानमा अनावश्यक प्रावधान राखिएकोप्रति गुनासो व्यक्त गरेका हुन् ।

उनले कांग्रेसलाई नै घाटा हुने कार्य नगर्न तथा पार्टी सभापति र केन्द्रीय सदस्यहरुको एकैचोटी निर्वाचन गराउन पनि माग गरे । उपसभापति गच्छेदारले न्यायालयबारे सडकमा सार्वजनिक बहस र प्रदर्शन हुनु संविधानमाथि नै हस्तक्षेप सरह भएकाले राजनैतिक दलका शीर्ष नेताहरुलाई गम्भीर हुन पनि आग्रह गरे ।

एक प्रश्नको जवाफमा उपसभापति गच्छेदारले आगामी महाधिवेशनमा आफू उपसभापति कै उम्मेदवार हुने जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV