१७ कार्तिक २०७८, बुधबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । बढ्दो आधुनिकीकरणसँगै पुख्र्यौली माटोको दीयोको व्यापार घट्दै गएको छ । बढ्दो आधुनिकीकरणसँगै भारतबाट आयातित फुलबुट्टासहितको माटोको दीयो बजारमा छ्यापछ्यापी हुन थालेपछि स्वदेशी माटोको दीयो बनाउने कुम्हाल समुदायको व्यापार घट्दै गएको व्यापारीहरुको गुनासो छ ।

दीपावली तथा छठ पर्वको बेला माटोको दीयोबाट घरलाई सजाउनुको साथै विभिन्न पूजा स्थलमा माटोको दीयोमा बत्ति बाल्ने गरिन्छ । तर, केही वर्षयता देखि विजुलीसहितको झिलीमिली लगाउने, त्यसमा पनि माटोकै दीयो चाहिने स्थानमा भारतको कोलकत्ताबाट फुलबुट्टा सहितको दीयोहरु आयात हुने गरेको कारण सर्वसाधारणहरु स्वदेशी उत्पादन भन्दा पनि विदेशी उत्पादन तर्फ आकर्षित हुने गरेको पाइएको छ ।

बदलिदो आधुनिक युगसँगै विस्तारै माटोको दीयो बाल्ने चलन पनि लोप हुँदै गइरहेको छ । विभिन्न प्रकारका विद्युतीय झिलीमिली बत्ती तथा माटोकै आकर्षित दीयोहरु बजारमा पाउन थालेपछि स्वदेशी उत्पादित दीयोको व्यापार घटेको व्यापारीहरुको भनाइ छ ।

दिन प्रतिदिन महँगीपनि बढ्दै गएको छ, माटो पनि किन्नुपर्छ, दाउरा पनि किन्नुपर्छ तर पनि सोचे जस्तो व्यापार हुन सकेको छैन । मैनबत्ती प्रयोग गरेको कारण माटोको दीयोको व्यापार घट्दै गएको उनीहरुको गुनासो छ ।

पुर्खौदेखि माटोको दीयो, घइँटो तथा छठ पर्वको बेला चाहिने माटोको हात्ती बनाउने कार्यमा गर्दै आएका कुम्हाल समुदायका व्यक्तिहरु पनि अहिले माटाको भाँडो विक्री गर्नमा व्यस्त छन् । तर उनीहरुले उत्पादन गरेको माटोको दीयो भन्दा पनि भारतबाट आयातित माटोको दीयो, घइँटो तथा हात्तीको व्यापार बढ्दो छ ।

भारतबाट आयातित दीयोमा विभिन्न प्रकारका आकर्षित फुलबुटटहरु बनाएको हुनाले सर्वसाधारणहरु स्वदेशी उत्पादित दीयो भन्दा पनि भारतबाट आयातित फुलबुट्टासहितको दीयोप्रति आकर्षित हुँदै गएको उनीहरुको भनाइ छ ।

पर्सा जिल्लाको ग्रामीण क्षेत्र विन्दवासिनी गाउँपालिका, पकहामैनपुर गाउँपालिकालगायतका अधिकांश कुम्हाल समुदायका व्यक्तिहरु माटाको भाँडो बनाएर वीरगन्ज बजारमा विक्री गर्न पुगेका छन् । माटाको सामग्रीहरु विक्री गर्ने व्यापारीहरु नेपाली भएपनि अधिकांश व्यापारीहरु भारतमा उत्पादित दीयो विक्री गरिरहेका छन् ।

कतिपयले आफैले उत्पादन गरेको माटाको भाँडाकुँडा विक्री गरिरहेका छन् भने कतिपयले भारत आयातित माटोको भाँडाकँुडा विक्री गरिरहेका छन् । स्वदेशी भन्दा विदेशी उत्पादनको भाँडाकुँडा महंगो मूल्यमा विक्री भइरहेता पनि सर्वसाधारणको आकर्षण भने विदेशी उत्पादनतर्फ नै देखिन्छ ।

स्वदेशी उत्पादित माटाको दीयो रु २ सय देखि २५० रुपैयामा १०० पिस विक्री भइरहेको छ, भने विदेशी उत्पादिन दीयो प्रति रु १० देखि १५ रुपैयामा विक्री भइरहेको छ । तैपनि सर्वसाधारणको आकर्षण विदेशी उत्पादनतर्फ नै छ । जसले गर्दा स्वेदशी उत्पादनकर्ताहरु मर्कामा पर्ने गरेका छन् ।

कतिपयले कुम्हाल समुदायका व्यक्तिहरुले आफूले उत्पादन गरेर विक्री गर्नुभन्दा भारतबाट किनेर ल्याएर विक्री गर्दा फाइदा हुने गरेको बताउँछन् । कतिपयले भन्सार महसुल महँगो भएको कारण खासै फाइदा नहुने गरेको बताउँछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV