१६ कार्तिक २०७८, मंगलवार
  • ध्यान कुलुङ,

सङ्खुवासभा । अर्थमन्त्री जर्नादन शर्माले अहिलेको सरकार पूर्ण रुपमा संबैधानिक भएको बताएका छन् । मंगलबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सङ्खुवासभा आएका मन्त्री शर्माले यस्तो बताएका हुन् ।

केही ब्यक्तिहरुले अदालतको परमादेशबाट निर्मित सरकार भनेर टिकाटिप्पणी गरिरहेको बताउँदै जनादेश प्राप्त सांसदहरुबाट सरकार निर्माण भएको बताए । प्रतिगमनकारीहरुबाट पटक–पटक संसद विघटन गरि देशलाई दुर्घटनामा पुर्याउन लागेको बेला अहिलेको सरकार आएपछि लोकतन्त्र, गणतन्त्रबाट प्राप्त भएको उपलब्धिहरुको संरक्षण भएको मन्त्री शर्माले बताए ।

जनताबाट निर्वाचित प्रतिनिधिहरुबाट सरकार गठन भएकोले आफ्नो पूरा कार्यकाल सरकार सञ्चालन गर्ने र जनताको काम गर्ने मन्त्री शर्माले स्पष्ट पारे । सरकार सञ्चालनका लागि बनाइएको गठबन्धनको बारेमा दलहरुबीच बैठक बसी साझा धारणा बनाइने मन्त्री शर्माले जानकारी दिए ।

हाल प्रधानमन्त्री देश बाहिर रहेको र स्वदेश फिर्तापछि बैठक बसेर साझा धारणा निर्माण गरिने उनले बताए । अहिलेसम्म सरकारमा संलग्न कुनै पनि दलले आधिकारिक निर्णय नगरिसकेको बताउँदै अहिलेको गठबन्धन निर्वाचन पछिसम्म नै रहने समेत उनले विश्वास ब्यक्त गरे ।

बुद्ध एयरको जहाजबाट तुम्लिङटार विमानस्थल ओर्लिएका मन्त्री शर्माले तुम्लिङटारस्थित नमुना विद्यालय मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयको अवलोकन गरेका थिए । प्राविधिक धारतर्फ ईञ्जिनियरिङ विषय अध्यापन गरिरहेको विद्यालयको गुणस्तरबाट आफू सन्तुष्ट रहेको मन्त्री शर्माले प्रतिकृया दिए ।

उक्त अवलोकन कार्यक्रम पश्चात मन्त्री शर्माले नेकपा माओवादी केन्द्र जिल्ला कार्य समिति सङ्खुवासभाले आयोजना गरेको राजनैतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

LIVE TV