१६ कार्तिक २०७८, मंगलवार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तिहारमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने समयसीमा तोकेको छ । प्रशासनले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमणलाई मध्यनजर गर्दै राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो ।

जारी सूचनामा भनिएको छ, ‘कोभिड–१९को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी देउसी–भैलो, नाचगानलगायत कार्यहरु राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायत र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरु नगर्ने/नगराउने ।’

त्यस्तै मादक पदार्थलगायत नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा हो–हल्ला, झै–झगडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि कार्य नगर्न र नगराउन आग्रह गरिएको छ ।

यसका साथै प्रशासनले पटका, आतिसवाजी जस्ता प्रज्ज्वलनशील एवं विष्फोटक पदार्थ उत्पादन, ओसारपसार, विक्री वितरण र प्रयोग नगर्न र नगराउनका लागि पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV