१६ कार्तिक २०७८, मंगलवार

काठमाडौं । नेपाल बार एसोसिएसनमा आबद्ध वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको तत्काल राजीनामा बाहेक अन्य कुनै पनि विषयमा सम्झौता नगर्ने बताएका छन् ।

वकिलहरुले प्रधानन्यायाधीश जबराले सम्मानजनक बहिर्गमनको नाममा आफू फेरि पदमा टिकिराख्ने योजना बनाएको आशंका गर्दै छलफलमा जुटेका सर्वोच्च अदालतका न्यायाधीशहरूलाई खबरदारी गरेका हुन् ।

मंलबार (आज) बारको तेस्रो दिनको धर्ना कार्यक्रममा बोल्दै अधिवक्ताहरूले न्यायाधीशहरूलाई सचेत गराएका हुन् । यता प्रधानन्यायाधीशले प्रस्ताव राखेपछि अहिले न्यायाधीशहरू जबरासँग अनौपचारिक संवादमा रहेका छन् ।

उक्त संवादमा बारलाई नसमेटेकोप्रति अधिवक्ताहरूले असन्तुष्टि जनाएका छन् । जबराको सम्मानजनक बहिर्गमन भनेको नै तत्काल राजीनामा भएको नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको भनाइ छ । त्यस्तै उनले सहज बहिर्गमनका लागि राजीनामा भएको र महाभियोग लाग्नु भन्दा अघि छोड्नु नै जबराको सम्मानजनक बहिर्गमन रहेको बताए ।

त्यस्तै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि सम्मानजनक बहिर्गमन जालझेल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV