१६ कार्तिक २०७८, मंगलवार

काठमाडौँ । आज धनतेरस मनाइँदै छ । यस अवसरमा विभिन्न धातुजन्य सामान किन्दा धनलाभ हुने जनविश्वास छ ।

धनतेरसमा तपाईको घरको ढोका कुन दिशामा छ, सोहीअनुसार विशेष दीप बालेर विशेष चीज किन्नुहोस् । त्यसको विशेष लाभ प्राप्त हुनेछ। वास्तुशास्त्रीका अनुसार यस्ता छन् मुख्य सुझाव –

– यदि तपाईंको घरको मुख्य ढोका आग्नेय कोणमा छ भने, तपाईंले चाँदीका वस्तुहरू किन्दा उत्तम हुनेछ । यदि तपाईंसँग क्षमता छ भने तपाईं हीरा पनि किन्न सक्नुहुन्छ । किनिसकेपछि ढोकामा दियो बाल्नुहोस् र त्यसमा एक सिक्का पनि राख्नुहोस्।

– यदि तपाईंको घरको मूलढोका दक्षिण दिशामा छ भने सुन वा तामाबाट बनेका सामान किन्नुहोस् । त्यसपछि तपाईंले ढोकामा दियो बाल्नुहुन्छ भने त्यसमा तोरीको दाना पक्कै राख्नुहोस् ।

– यदि तपाईंको घरको मुख्य ढोका नैऋत्य कोणमा छ भने चाँदी वा तामाबाट बनेको वस्तु किन्नुहोस् । अनि ढोकामा दियो बाल्नुहोस् र त्यसमा अवश्य ल्वांग राख्नुहोस्।

– यदि तपाईंको घरको मुख्य ढोका पश्चिम दिशामा छ भने चाँदीका वस्तुहरू किन्नु शुभ हुनेछ । घरको मुख्य प्रवेशद्वारमा दियो बालेपछि त्यसमा किसमिस राख्नुहोस्।

– यदि तपाईको घरको मुख्य ढोका वायव्य कोणमा छ भने चाँदी वा मोती किन्नुहोस् । अनि दियोमा बालेर मिस्री चढाउनुहोस्।

– यदि तपाईंको घरको मुख्य ढोका उत्तर दिशामा छ भने सुन किन्दा उत्तम लाभ प्राप्न हुनेछ । साथै पीतल किन्दा पनि हुन्छ या लक्ष्मी–नारायणको प्रतिमा किन्नुहोस् । र मुख्य ढोकामा दियो बाल्दा त्यसमा अलैँची अवश्य राख्नुहोस्।

– यदि तपाईको घरको मुख्य ढोका ईशान कोणमा छ भने सुन, पीतल वा लक्ष्मी–गणेशको मूर्ति किन्नुहोस् । अनि मुख्य ढोकामा दियो बाल्दा त्यसमा एक चिम्टी बेसार राख्नुहोस्।

– यदि तपाईंको घरको मुख्य ढोका पूर्व दिशामा छ भने, तपाईंले सुन वा तामा किन्नु लाभदायक हुनेछ । मुख्य ढोकामा दियो बाल्दा त्यसपछि थोरै कुमकुम राख्नुहोस्।

अन्य के किन्ने ?

यसबाहेक धनतेरसका दिन दिन नयाँ झाडु या कुच्चो र नाङलो किनेर पूजा गर्नु पनि राम्रो मानिन्छ । सकेसम्म घरमा चाहिने तामा, पीतल, चाँदीबाट बनेका भाँडाकुडा तथा गरगहना किन्नु राम्रो मानिन्छ ।

साथै नयाँ सफा लुगा लगाएर मन्दिर, गौशाला, घाट, इनार, पोखरी, बगैंचामा आदिमा पनि दियो बाल्नु शुभ मानिन्छ । धनतेरसको साँझ सकेसम्म तिलको तेल राखेर दियो बाल्नु उत्तम मानिन्छ । यस साँझ तेह्र दियो बालेर कुबेरको पूजा गर्नाले धनधान्य र सिद्धि प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV