१६ कार्तिक २०७८, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा हिमाली मुलुकको जलवायु संवेदनशीलतालाई प्राथमिकतामा राख्न जोड दिएका छन् ।

हिजोदेखि स्कटल्यान्डको ग्लास्गोमा सुरु भएको उक्त सम्मेलनमा प्रधानमन्त्री देउवाले हिमालका मुद्दालाई प्राथमिकतामा राख्दै हिमाली मुलुकका बासिन्दाको जीवन सहज बनाउनमा ध्यान दिनुपर्ने बताए । यसका लागि विश्वव्यापी तापमान समेत नियन्त्रणमा राख्नुपर्ने उनको सुझाव थियो ।

प्रधानमन्त्री देउवाले भने, ‘प्राकृतिक प्रकोपका कारण पछिल्ला ४० वर्षमा नेपालले मात्रै ६ अर्ब अमेरिकी डलरभन्दा बढीको भौतिक तथा आर्थिक क्षति बेहोरेको छ । बढ्दो तपक्रमसँगै हिमाली भेगको जनजीवन प्रभावित भएको छ । हिमनदीहरु पग्लिने क्रम बढेको छ । यसले नेपालजस्ता हिमाली देशलाई प्रत्यक्ष असर पुगेको हुनाले अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गर्न चाहन्छु ।’

नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य लिएको समेत प्रम देउवाले विश्व समुदायसामु सुनाए । सो लक्ष्य प्राप्तिका लागि आफूहरु प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । यसका साथै सन् २०३० सम्ममा नेपालको कूल उर्जा खपतको १५ प्रतिशत क्लिन इनर्जीबाट पूरा गर्ने र ४५ प्रतिशत भूभागमा वृक्षारोपण गरेर वनजंगल बढाउने समेत उनले बताए ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको कार्यान्वयनमा नेपाल गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ थियो । सो क्रममा उनले नेपाललगायतका जलवायु परिवर्तनका हिसाब उच्च संवेदनशील देखिएका मुलुकलाई प्रदान गरिँदै आएको आर्थिक, प्राविधिक सहयोगमा वृद्धि गर्न आग्रह पनि गरे ।

LIVE TV