१५ कार्तिक २०७८, सोमबार

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आज सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा फैसला गर्दै छ ।

सर्वोच्चमा विचाराधीन उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेशी तोकिएको छ । मुद्दामाथि आजको मितिमा फैसला हुने यसअघि नै तोकिएको थियो । तर अहिले सर्वोच्चकै न्यायाधीहरु इजलास बहिस्कार गरेर प्रधानन्यायाधीशको राजीनामा मागिरहेका बेला उक्त फैसला आजै हुन्छ या हुन्न भन्नेबारे यकीन छैन ।

गत असोज १८ गते उक्त मुद्दामािथ सुनुवाइ गर्दै फैसला सुनाउने मिति कार्तिक १५ (आज) का लागि तोकिएको थियो । तत्कालीन समयमा माधव नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला ललिता निवासको सरकारी जग्गा व्यक्तिहरुको नाममा नामसारी गरिएको थियो । यही आधारमा उनीहरुको नाम पनि यस प्रकरणमा तानिएको हो ।

२०७६ माघ २९ गते वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि उक्त हिनामिनामा मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध उक्त जग्गा प्रकरणमा मुद्दा चलाएको थियो तर नेपाल र भट्टराईविरुद्ध भने मुद्दा नचलाउने निर्णय गरेको थियो ।

अख्तियारको तर्क थियो मन्त्रिपरिषद्बाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय आयोगको अनुसन्धानको क्षेत्राधिकारभित्र पर्दैनन् । तर यो मुद्दा अख्तियारले हेर्न नमिल्ने भएपछि अदालतमा प्रवेश गरेको हो ।

यस प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको हकमा अदालतले कस्तो फैसला गर्ला, अहिले धेरैको चासोको विषय बनेको छ ।

LIVE TV