१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । खाडी मुलुक दुबईको अबुधाबीमा अक्टोबर २५ देखि २९ सम्म आयोजना गरिएको अबुधाबी डायलगको छैठौँ मन्त्रीस्तरीय बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सहभागी भएर नेपाल फर्किएका छन् ।

अबुधाबी डायलगमा मन्त्री श्रेष्ठसहित सचिव सूर्यप्रसाद गौतम र उपसचिव डा. थानेश्वर भुसाल र दुबईस्थित नेपाली राजदूतावास अबुधाबीबाट राजदूत कृष्णप्रसाद ढकाल र श्रम काउन्सलर निर्मला थापा पनि सहभागी थिए ।

बैठकमा नेपालका तर्फबाट सचिव गौतमले कोभिड–१९ को कारण आप्रवासी श्रमिकहरुले भोगेका समस्याहरुको समाधानका लागि पहल गर्न आप्रवासी श्रमिक आपूर्ति गर्ने देशका प्रतिनिधिहरुलाई विशेष अनुरोध गरे ।

त्यसपछि मन्त्री श्रेष्ठले ५ बुँदे धारणा राखे । जसमा वैदेशिक रोजगारबाट फर्किएका नेपाली श्रमिकको सहयोगदेखि कामदारको न्यूनतम तलब रहेका छन् ।

मन्त्री श्रेष्ठको धारणा बुँदागत रुपमा हेरौँ :

१. वैदेशिक रोजगारीमा गइ स्वदेश फर्केका कामदारहरुलाई स्वदेशमा नै पुनःएकीकरण गर्न सहयोग गर्ने,

२. स्वच्छ रुपमा कामदार भर्ना प्रकृया सुनिश्चित गर्न कामदार पठाउने मुलुक र प्राप्त गर्ने मुलुकबीच सहकार्य गर्ने,

३. आप्रवासी श्रमिकहरुको कार्यस्थलको सुरक्षा सुनिश्चित गर्ने,

४. आप्रवासी श्रमिकले सिकेको सीपको पहिचान गरी उनीहरुलाई उपयुक्त काममा मात्र लगाउने, र

५. कामदारको न्यूनतम तलवमान बढाउने विषयमा ध्यान दिने ।

त्यसपछि मन्त्री श्रेष्ठले आगामी २ वर्षका लागि अध्यक्ष राष्ट्रको जिम्मेवारी लिएको मित्रराष्ट्र पाकिस्तानलाई बधाइ दिए । साथै, अध्यक्ष राष्ट्रले अबुधाबी डायलगमा उठाउने विषयमा समर्थन गर्ने र अन्य सदस्य राष्ट्रहरुबीच निरन्तर सहकार्य गर्ने धारणा राखे ।

यहीँ अवसरमा मन्त्री श्रेष्ठले संयुक्त अरव इमिरेट्सका मानव संशाधन तथा इमिरिटाइजेसन मन्त्रीसँग शिष्टाचार भेट पनि गरे ।

भेटमा द्विपक्षीय श्रम सम्बन्धलगायत विविध विषयहरुमा छलफल भयो । बैठकमा गौतमले मित्रराष्ट्र कतार, साउदी अरबिया र मलेसिया सरकारका समकक्षीहरुसँग द्विपक्षीय श्रम सम्झौताका विषयहरुमा मैत्रिपूर्ण छलफल गरे ।

श्रम मन्त्रालयले अबुधाबी डायलगको छैठौँ संस्करणमा नेपालको तर्फबाट मन्त्री श्रेष्ठसहितको टोलीको सहभागिताले नेपालको वैदेशिक रोजगार व्यवस्थापनको क्षेत्रमा राम्रो उपलब्धी हासिल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV