१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । यूकेको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६औँ सम्मेलन (कोप–२६) औपचारिक रूपमा सुरु भएको छ । वर्षौंको तयारी र कोरोना भाइरस महामारीका कारण एक वर्ष ढिलो गरी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६औँ सम्मेलन सुरु भएको हो ।

जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि महत्वपूर्ण ठानिएको यस सम्मेलनमा सोमबार (भोलि)बाट विश्व नेताहरूले छलफल र बहसको कठिन काम सुरु गर्नेछन् ।

वैज्ञानिकहरुले जैविक इन्धनको प्रयोग सहित मानवीय कारणले विश्वको तापमान बढिरहेका अवस्थामा जलवायु विपद् छल्न आपतकालीन कार्यहरू आवश्यक रहेको बताइरहेका छन् । यस सम्मेलनलाई यूकेका प्रधानमन्त्री बोरिस जोनसनले ‘विश्वको सत्यको क्षण’ बताएका छन् ।

सन् २१०० भित्र औसत तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य तय गरिएको छ । संयुक्त राष्ट्रसङ्घले भने यतिखेर विश्वको तापमान २.७ डिग्री सेल्सियस पुग्ने गतिले बढिरहेकाले त्यसले ‘जलवायु दुर्भाग्य’ निम्त्याउने जनाएको छ ।

यता कोप–२६ का अध्यक्ष आलोक शर्माले १.५ डिग्री सेल्सियसको लक्ष्यमा पुग्ने काम ‘निकै कठिन’ रहेको बताए । लक्ष्य हाँसिल गर्न विश्व नेताहरू ‘एकजुट हुनुपर्ने’ उनको भनाइ छ । त्यस्तै उनले १.५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि कोप–२६ अन्तिम उत्कृष्ट आशा रहेको बताए ।

करिब २०० देशहरूलाई आफ्ना कार्बन उत्सर्जन घटाउने थप महत्वकाङ्क्षी लक्ष्यहरू तय गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV