१४ कार्तिक २०७८, आईतवार
  • रामगोपाल तमखु,

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजमा हुने चोरी, ठगी, लुटपाट, हिंसालगायतका घटनाबाट नागरिक स्वयंले सचेत तथा सुरक्षाका सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् । उहाँले शान्ति सुरक्षा कायम गर्ने र आपराधिक घटना न्यूनीकरणमा प्रहरी र नागरिक दुवैको उतिकै भूमिका आवश्यक भएको बताए ।

नगर प्रमुख प्रजापतिले भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर लेडी जेसिस, बनसी खुला क्षेत्र संरक्षण समाजको संयुक्त आयोजनामा विजया दशमी, शुभ दिपावली तथा ने.सं. ११४२ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सामाजिक सुरक्षामा नेपाल प्रहरीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

त्यस्तै उनले समाजमा नयाँ खालका अपराधको संख्या बढिरहेको उल्लेख गर्दै नयाँ पुस्तालाई नै सजग र सचेत गराउन आवश्यक भएको बताए । नेपालमा विद्युतीय सामग्रीहरुको महत्व दिन प्रतिदिन बढिरहेको अवस्थामा यस्ता सामग्रीहरु सबै विदेशबाट आयात गर्नुपर्दा नेपाल परनिर्भरता तर्फ धकेलिँदै गएको उनको भनाइ छ ।

नेपाल सरकारले यस्ता सामग्रीहरु नेपालमै उत्पादन गर्नेतर्फ जोड दिनुपर्ने पनि उनको भनाइ छ । त्यस्तै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको अवस्थाबारे चित्रण गर्दै उनले प्रहरी प्रशासनले सामाजिक सद्भाव र समाजलाई सभ्य र सुरक्षित बनाउन विविध कार्यक्रमहरु सञ्चालनमा जोड दिँदै आएको बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नजिकिँदै गएको चाडपर्वहरु नयाँ बस्तीमा पनि पुरानो बस्तीमा जस्तै सामाजिक सद्भाव कायम गर्न वडाले विविध गतिविधि सञ्चालन गर्दै आएको बताए । भक्तपुर नपाले व्यवस्थित आवास योजना सञ्चालन गरी नयाँ बस्तीमा खुला क्षेत्र कायम, सडक कालोपत्रे, विद्युत आपूर्ति, सडक बत्ती व्यवस्थापन, खानेपानी सुविधाको निम्ति बोरिङ आदि कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै आएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV