१४ कार्तिक २०७८, आईतवार
  • हरिशंकर शर्मा

वीरगन्ज (पर्सा) । जिल्ला हुलाक कार्यालय पर्साको करिब १८ कठ्ठा जग्गामध्ये अधिकांश जग्गा लामो समयदेखि अनाधिकृत रुपमा निजी व्यक्तिको कब्जामा रहेको पाइएको छ ।

तत्कालीन कार्यालय प्रमुख अमित गिरीले २०७२ सालमा हुलाक कार्यालयको खाली जग्गा प्रति महिना ५ देखि १० हजारसम्म भाडादर कायम गरि १० वर्षका लागि सम्झौता गरि ४ जनालाई भाडामा दिएका थिए ।

वीरगन्जको मुख्य सडकमा पर्ने हुलाक कार्यालयको जग्गा एकदम न्यून रकम तोकेर भाडामा दिएको, त्यसमा पनि भाडामा लिएकाहरुले सम्झौता विपरीत अनाधिकृत रुपमा थप जग्गा अतिक्रमण गरेका छन् भने स्थायी टहरा पनि निर्माण गरेका छन् ।

पावरहाउस चोकदेखि घण्टाघर जाने मुख्य सडकको पूर्वपट्टि रहेको जिल्ला हुलाक कार्यालयको मातहतमा १७ कठ्ठा १८ धुर ३ कनवा जग्गा रहेको छ । सो जग्गामध्ये खाली जग्गालाई भाडामा लगाउने उद्देश्यले तत्कालीन कार्यालय प्रमुख आफ्नो स्वार्थसिद्ध गर्नका निम्ति एकदम न्यून भाडामा जग्गा दिएका थिए ।

भाडामा लिएकाहरुले आफ्नो हकभन्दा चार गुणा बढीसम्म जग्गा कब्जा गरेका छन् । भाडामा लिएका न्यू मंगलकामना नर्सरीले आफ्नो हकभोगभन्दा चार गुणा बढी जग्गा कब्जा गरेको छ ।

जग्गा भाडामा लिने को को छन् ?

जग्गा भाडामा लिनेहरुमा उमेश प्रसाद कुशवाहाको नाममा न्यू मंगलकामना नर्सरी, मुकेश साहको नाममा रहेको आरिया एजुकेशन, विनय यादवको नाममा रहेको होण्डा शो रुम तथा रविन्द्र प्रसाद कुशवाहाको नाममा रहेको मनोकामना नर्सरी रहेको छ ।

न्यू मंगलकामना नर्सरीले १० धुर जग्गाको सम्झौता गरेर करिब ४ कठ्ठा जग्गा कब्जा गरेका छन् भने आरिया एजुकेशन, होण्डा शो रुम तथा मनोकामना नर्सरीले स्थायी टहरा निर्माण गरेका छन् ।

कस्ले कति तिर्नुपर्ने थियो सम्झौतामा

न्यू मंगलकामना नर्सरीले प्रति वर्ष ६३ हजार भाडा तिर्ने गरि भाडामा लिएको छ भने आरिया एजुकेशनले ४ किल्लालाई तोकेर प्रति वर्ष ८१ हजार ५ सय भाडा तिर्ने गरि सम्झौता गरेको छ ।

यसैगरी होण्डा शो रुमले प्रतिवर्ष १ लाख ४३ हजार भाडा तिर्ने गरि १ कठ्ठा जग्गा भाडाको सम्झौता गरेको छ भने मनोकामना नर्सरीले प्रतिवर्ष १ लाख २५ हजार ५३५ भाडा तिर्नेगरि १ कठ्ठा जग्गाको सम्झौता गरेको छ ।

सम्झौताको क्रममा भाडामा लिएकाहरुलाई हकभोग भन्दा बढी जग्गा प्रयोग नगर्न तथा स्थायी टहरा निर्माण नगर्न भनेर सम्झौता भएको थियो तर सम्झौता विपरित यि चारैजनाले अनाधिकृत रुपमा जग्गा कब्जा गरेका छन् ।

हुलाक कार्यालयको मातहतमा रहेको करिब १८ कठ्ठा जग्गामध्ये, ३ कठ्ठा साना तथा घरेलु कार्यालयलाई दिइएको छ भने ३ कठ्ठा जति जग्गा मात्रै भाडामा लगाइएको छ ।

७ कठ्ठा जग्गामा मनपरी

त्यसमध्ये करिब ५ कठ्ठामा हुलाक कार्यालय रहेको छ भने बाँकी करिब ७ कठ्ठा जग्गा भाडावालाहरुले अनाधिकृत रुपमा कब्जा गरेका छन् ।

भाडामा लिएको जग्गामा स्थायी टहरा नबनाउने, जग्गामा नर्सरी खोली विरुवा मात्रै विक्री गर्ने सम्झौता भएको थियो । तरभाडामा लिएकाहरुले आफुखुशी स्थायी टहरा निर्माण गर्नुका साथै हुलाकका खाली सबै जग्गा अतिक्रमण गरेका छन् ।

उनीहरुमध्ये कतिपयले घर नै निर्माण गरेर परिवारसहित बस्दै आएका छन् । आरिया एजुकेशनलाई मुख्य रोडसँग जोडिएको पुरानो भवनलाई मात्रै आधार बनाई भाडामा दिएतापनि उसले अनाधिकृत रुपमा पुरानो भवन सहित नयाँ पक्की घर निर्माण गरि कक्षा संचालन गर्दै आएको छ ।

सिडिओ तामाङले एक्सन चालेका थिए तर, सरुवा भए

अनाधिकृत रुपमा कब्जामा रहेको जग्गालाई खाली गराउन जिल्ला हुलाक कार्यालय पटक पटक प्रयास गरेको छ तर, सफल हुन सकेको छैन । तत्कालीन प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले भाडामा लगाइएको जग्गाको फाइल मगाएर छानविन गरेका थिए तर उनको सरुवा भएपछि जग्गा खाली गराउने काम रोकिएको थियो ।

यसबारे जिल्ला हुलाक कार्यालय पर्साका निमित्त प्रमुख चन्द्रदेव दासले आफूले अतिक्रमित जग्गा खाली गराउन पटक पटक प्रयास गरेको बताए । उनले जग्गा खाली गराउन जिल्ला प्रशासनलाई पत्र समेत पठाइएको छ, अहिलेपनि खाली गराउनका लागि जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV