१४ कार्तिक २०७८, आईतवार

काठमाडौं । लक्ष्मीप्रसाद महर्जन बूढानीलकण्ठ नगरपालिका वडा १२ स्तरीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार च्याम्पियन बनेका छन् ।

कपनको फैकास्थित हिमाल ब्याडमिन्टन हलमा भएको प्रतियोगिताको फाइनलमा लक्ष्मीले सविन तिवारीलाई २१–१८ र २१–१९ को सोझो सेटमा पराजित गरे । लक्ष्मीले ८ हजार तथा सविनले ४ हजार नगद पुरस्कारसहित ट्रफी, पदक तथा प्रमाण पत्र प्राप्त गरे ।

नागेश्वरी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा रामचन्द्र श्रेष्ठ र राजेश मल्ल ठकुरीको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले राजेन्द्र मगर र भरत थापाको जोडीलाई २–० को सीधा सेटमा हराए ।

ट्रफी, पदक तथा प्रमाण पत्रसहित विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार पाए । दीपक क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई मुख्य प्रायोजक बूढानीलकण्ठ नगरपालिका वडा १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराई, प्रतियोगिता संयोजक समेत रहेका हिमाल ब्याडमिन्टन हलका सञ्चालक प्रजापति दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताको सिंगल्समा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए भने डबल्समा १७ जोडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV