
- दान बहादुर बुढा,
मुगु । नेलालीहरुको महान पर्व तिहार नजिकिएसँगै मुगुमा जिल्लामा फूलको कृत्रिम मालाको बिगबिगी बढेको छ । जिल्लामा सयपत्री, मखमली, गोदावरीलगायतका फूलहरुको ब्यवसायिक उत्पादन नभएको कारण भारत र चीनबाट फूलको कृत्रिम माला आयात गरिएको हो ।
जिल्लाको सदरमुकाम गमगढी बजार तथा खत्याडको माथिचौर, सेरी, जाम, श्रीकोट, रातापानी, बिराबगर, सोरु गाउँपालिकाको सोरुकोट, धैन बजार, मुगुमकार्मारोङ गाउँपालिकाको छाइल, पुलुलगायतका स्थानीय बजारमा रंगी विरंगी फूलको कृत्रिम मालाहरु विक्रीका लागि राखिएका छ ।
तिहार नजिकिएसँगै भाई मसला, सत्परंगी टीका, काजु, किसमिसलगायत तिहारमा आवश्यक सामग्रीले पसलहरु भरिएका छन् । उद्योग बाणिज्य संघ–मुगुका सचिव मान बहादुर बुढाका अनुसार बार्षिक करिब १५ देखि २० लाख रुपैयाँ बराबरको तिहारका लागि आवश्यक सामग्रीहरु आयात हुने गरेको छ ।
ब्यवसायिक रुपमा फूल उत्पादन नभएको कारण प्लास्टिक तथा कपडाका कृत्रिम मालाहरु रु २० देखि ५० रुपैयाँसम्ममा विक्री हुने गरेको कनका सुन्दरी स्टोरका प्रोपराइटर कर्ण बहादुर बुढाले बताए ।
यस वर्षको तिहारमा जिल्लाभर २० देखि २५ लाख रुपैयाँसम्मको कृत्रिम मालाको कारोबार हुने आँकलन गरिएको अर्का स्थानीय ब्यापारी बसन्त बुढाले बताए ।