१४ कार्तिक २०७८, आईतवार
  • हरिशंकर शर्मा

वीरगन्ज (पर्सा) । वीरगन्जस्थित नारायणी अस्पतालमा सञ्चालित हिंसा विरुद्धको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)को अवस्था एवं समस्याबारे निरीक्षण गरिएको छ ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीको नेतृत्वको टोलीले नारायणी अस्पतालमा विगत दुई वर्षदेखि स्थापना गरिएको ओसीएमसीको अवस्थाबारे जानकारी लिनुका साथै सम्बन्धित व्यक्तिहरुसँग छलफल गरेको हो ।

कार्यक्रममा सहभागी भएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले हालसम्म नारायणी अस्पतालले यस्तो सेवा पनि सञ्चालन गरेको भन्नेबारे आफूलाई जानकारीसमेत नरहेको बताए ।

जिल्ला प्रहरी कार्यालयमा महिला हिंसापीडितहरु न्यायको लागि आउने गरेकोमा उनीहरुलाई राख्ने बास स्थानको समस्या देखि काउन्सिलिङ्ग गर्नेहरुको अभावको कारण समस्या हुने गरेकोले यो केन्द्रबाट संचालन हुने सेवा सञ्चालन भएको भए सहज हुने बताए ।

हिंसामा परेका महिलाहरुलाई उपचारको क्रममा त्यसलाई काउन्सिलिङ्ग गर्ने, आफ्नो मातहतमा राखेर उपचार गराउने जस्ता कामहरु गर्ने उद्देश्यले २०७६ सालमा नारायणी अस्पतालमा उक्त केन्द्रको स्थापना गरिएको थियो ।

तर, हालसम्म उक्त केन्द्रबाट एकजना पनि हिंसापीडित महिलाले सेवा पाउन सकेको छैन । केन्द्रबारे सम्बन्धित निकायहरुलाई नै जानकारी छैन । हिंसामा परेकी महिलाहरुको न्यायको लागि काम गर्ने महिला तथा बालबालिका कार्यालय, महिला अधिकारकर्मीलगायत कसैलाई पनि उक्त केन्द्रबारे जानकारी छैन ।

२०७६ सालमा नारायणी अस्पतालमा स्थापना भएको उक्त केन्द्रको निर्देशिक २०७६ को मसान्तमा लागू गरिएको थियो भने २०७७÷०७८ मा २० लाख बजेट समेत निकाशा गरिएको थियो र यस वर्ष पनि २० लाख बजेट निकाशा गरिएको छ । तर दुई वर्षको अवधिमा उक्त केन्द्रबाट अस्पतालले एक रुपैया पनि खर्च गर्न सकेको छैन ।

केन्द्र स्थापना भएर पनि कागजमै सीमित रहेको छ । कार्यक्रमबारे कसैले जानकारी नपाउनु दुःख पक्ष रहेको भन्दै महिला आयोगकी अध्यक्ष पराजुलीले दुई वर्षको अवधिमा एक जना पनि हिंसा पीडित महिलाले सहुलियत पाउन नसकेकोले दुःखेसो पोख्दै आगामी दिनमा यस केन्द्रलाई तदारुक्ता दिनुपर्ने बताइन् ।

यस केन्द्रले गर्ने काम र यहाँबाट पाउने सेवाबारे प्रचार प्रसारदेखि अस्पताल परिसरमा होडिङ्ग बोर्डको व्यवस्था गर्नुपर्ने बताइन् । सरकारले हिंसा पीडित महिलाहरुको सहुलियतको लागि यो केन्द्र स्थापना गरेको छ, तर यसको सदुपयोग हुँदैन भने भोलिको दिनमा यो केन्द्र खारेज गर्नुपर्ने अवस्था पनि आउन सक्ने भएकोले यसलाई तत्कालै संचालन गर्नुपर्ने निर्देशन दिइन् ।

कार्यक्रममा सहभागी महिला अधिकारीकर्मी लक्ष्मी उप्रेतीले विगत लामो समयदेखि आफूले हिंसामा परेको महिलाहरुको न्यायको लागि लड्दै आएको तर हालसम्म आफूलाई नै यो केन्द्रबारे जानकारी नरहेको बताइन् ।

हिंसामा परेकी महिलाहरुलाई विभिन्न कारणबस रातको बासको व्यवस्था गर्नुपर्ने अवस्थामा प्रहरीदेखि महिला अधिकारकर्मीहरु समस्या हुने गरेको सहभागी वक्ताहरुको भनाई थियो । तर, सरकारले दिएको सुविधा अनुसार नारायणी अस्पतालमा हिंसापीडित महिलाहरुलाई राखेर काउन्सिलिङ्ग गर्ने, उपचार गर्ने, स्यहार सुसार गर्ने जस्ता कामहरु भएको भए सहज हुने उनको भनाई थियो ।

कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्ड डा। विरेन्द्र प्रधानले यस केन्द्र संचालनबारे अस्पताल चुकेको स्वीकार्दै कोरोना संक्रमण महामारीले गर्दा पनि यस केन्द्र ओझेलमा परेको बताए । यो केन्द्र ओझेलमा परेपनि यसबाट पाउने सेवा सुविधा नारायणी अस्पतालले दिँदै आएको उनको भनाई छ ।

प्रहरीले ल्याउने गरेको हिंसा पीडित महिलाहरुको उपचारमा नारायणी अस्पताल कहिलेपनि नचुकेको भन्दै आगामी दिनमा यस केन्द्रलाई तदारुक्ताका साथ संचालन गरि २० लाखको ठाउँमा ५० लाख बजेट खर्च हुने खालको काम गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV