१४ कार्तिक २०७८, आईतवार

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयन कार्यदलबाट राजीनामा दिएका छन् । उनले यही कार्तिक १० गते आफूले लिखित राजीनामा पेश गरेको बताएका छन् ।

१० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली अनिच्छुक नदेखिएको भन्दै रावलले राजीनामा दिएका हुन् । यसअघि माधव नेपाल लगायत समूहसँग तीव्र अन्तरविरोध भएपछि समसम्या समाधान गर्न भन्दै १० बुँदे सहमति गरिएको थियो । तर माधव नेपालले नयाँ पार्टी दर्ता गरेपछि उक्त समूहका रावलसहित केही नेताहरु एमाले बसेका थिए ।

कार्तिक ५ गते तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा बसेको एमाले स्थायी कमिटीको बैठकमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानि)–१२ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा आफूले सहमतिका लागि गरिएका प्रयत्नहरु तथा १० बुँदे सहमतिको अवस्थाबारे लिखितरुपमा जानकारी गराएको गराएको रावलको दाबी छ । तर पार्टीभित्र १० को मर्म अध्यक्षले नै नबुझेको भन्दै उनी असन्तुष्ट थिए ।

रावलले राजीनामा पत्रमा लेखको छन्, ‘कार्यदल गठन हुँदा संयोजक नतोकिए पनि यसबारे मैले नै स्थायी कमिटीमा कुरा उठाएपछि म संयोजकमा रहने निर्णय पछि मात्र भएको थियो। एमालेको सिङ्गो पंक्ति मात्र होइन वामपन्थी क्षेत्र र जनताको समेत चासो रहेको पार्टी एकताको लागि काम गर्नुपर्ने एमालेको कार्यदलबाट मैले राजीनामा किन दिएँ भन्ने कुरा सम्बन्धित सबैले थाहा पाउनु आवश्यक छ ।’

 

LIVE TV