१३ कार्तिक २०७८, शनिबार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । मुख्य प्रशिक्षक अलमुताइरी शनिबार (आज) राति नेपाल आइपुगेका हुन् ।

विमानस्थलमा प्रशिक्षक अलमुताइरीलाई राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्याय, एन्फाका सदस्य रुपेश अधिकारीले स्वागत गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण गर्दै प्रशिक्षक अलमुताइरी नेपाल फर्किएका हुन् ।

प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पु¥याएका थिए । माल्दिभ्समा दुई साता अघि सम्पन्न साफको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । उपाधि जित्न नसकेपनि नेपाल पहिलो पटक साफको उपविजेता बनेको छ ।

अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । प्रो–लाइसेन्स प्राप्त अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटका लागि नेपाली टोली सम्हाल्न नेपाल आएका थिए ।

LIVE TV