१३ कार्तिक २०७८, शनिबार
  • जनक शाही,

हुम्ला । कात्तिक महिनामा परेको बेमौसमी वर्षाका कारण आएको बाढी–पहिरोले करोडौं क्षति भएको छ भने १ सय ८६ घरपरिवार विस्थापित भएका छन् ।

प्रहरीका अनुसार संकलन गरिएको क्षतीको विवरण अनुसार असोज ३१ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले हुम्लामा ३६ करोड ६६ लाख ५ हजार ८ सय रुपैयाँ बराबरको क्षति भएको छ ।

बेमौसमी वर्षाका कारण सडक, घर, खेतबारी, अन्नबाली, पुलपुलेसा, बाटोघाटो, मठमन्दिर र पशुबस्तुमा भएको कुल भौतिक क्षतिको प्रारम्भिक अनुमान आएको बताइएपनि प्रहरी र स्थानीय तहले संकलन गरेको विवरणमा फरक परेको छ ।

प्रहरीको विवरण अनुसार हुम्लाका ७ वटा गाउपालिकामा जम्मा ७ करोड ७० लाख ४८ हजार ५० रुपैया बराबरको क्षती भएको छ । तर, जिल्लाका ६ वटा गाउपालिका बाहेक खार्पुनाथ गाउपालिकाले ५ वटै वडामा बेमौसमी वर्षाका कारण आएको बाढी–पहिरोले गरेको क्षतिको विवरण संकलन गर्दा करिब ३० करोड बराबरको क्षति भएको खार्पुनाथ गाउपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।

जिल्लाका अन्य ६ वटा गाउपालिकाहरुले पनि खार्पुनाथ गाउगालिकाले जस्तै गाउपालिकाका सबै वडाहरुमा स्थलगत अनुगमन गरी क्षतिको विवरण संकलन गर्ने हो भने क्षतिको अनुमानित रकम बढ्ने देखिन्छ ।

अहिले प्रहरीबाट आएको विवरण प्रारम्भिक मात्र भएको र ३ दिनको अविरल बर्षाले खार्पुनाथ–५ बाहेकका गाउँपालिकामा मानवीय क्षती नभएपनि भौतिक (घर, खेतबारीमा लगाएको अन्नबाली, पुलपुलेसा, पाटीपौवा, पशुबस्तु, मन्दिर बाटोघाटो, खानेपानी र सिचाई कुलो)मा क्षती भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

बेमौसमी वर्षाले जिल्लाभर १ सय ९९ घर भत्किएको छ, भने ४ सय ७ घर परिवार उच्च जोखिममा र ४५ परिवार जोखिममा परेका छन् ।

१ सय ८६ परिवार सुरक्षित स्थानमा सार्नुपर्ने र जिल्लाभरी नै ठाउँठाउँमा सडक भत्किदा र पुल बगाउदा आवतजावतमा समस्या भएको बताइएको छ । त्यस्तै खेतबारी बगाउदा अन्दाजी ३ हजार ४ सय ७ क्विन्टल अन्नबाली नष्ट भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

बर्षाले जिल्लाभर नै क्षती पुर्याएको भएपनि हालसम्म खार्पूनाथ गाउपालिका बाहेक अन्य कुनै गाउँपालिकाकाले आफ्नो पालिकामा के कति क्षती भएको छ ? भन्ने यकिन क्षती विवरण संकलन गर्न सकेको छैन ।

खार्पुनाथ गाउँपालिकाले भने गाउपालिकाका अध्यक्ष कर्णबहादुर रावलको नेतृत्वमा आफ्नो गाउँपालिका क्षेत्रभित्र बाढी पहिरोबाट भएको क्षतीको यकिन विवरण संकलन गरिसकेको छ ।

बेमौसमी वर्षाका कारण खार्पुनाथ गाउँपालिकामा ६ जनाको ज्यान गएको छ । त्यस्तै ७ वटा पशुबस्तु मरेको छ, भने २३ घर भत्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV