१३ कार्तिक २०७८, शनिबार

युवराज आचार्य,

झापा । झापाको भद्रपुर–गलगलिया सीमा नाका करिब २० महिनापछि सहज भएको छ । कोरोना भाइरस महामारीले लामो समयदेखि बन्द राखिएको भद्रपुर–गलगलिया सीमा नेपाल सरकारले एक महिनाअघि खुला गर्ने निर्णय गरेको थियो । तर, सीमामा तैनाथ भारतीय एसएसबीले माथिको आदेश नआएको भन्दै सो सीमा नाका बन्द राखेका थिए ।

भारतीय एसएसबीलाई मौखिक आदेश आएपछि बिहीबारदेखि नाका सहज गरेको हो । भारतीय एसएसबीले डबल खोप लगाएका व्यक्तिलाई खोप कार्ड वा ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट र नेपाली नागरिकताको आधारमा भारत प्रवेश गर्ने अनुमति दिएको छ ।

एसएबसीले सीमा हेल्थ डेस्क राखेर पैदलयात्रीलाई मात्र प्रवेश गर्न अनुमति दिएको जनाइएको छ । हाल दुई पाङग्रे र चार पाङग्रे सवारीसाधनलाई प्रवेश गर्न अनुमति नदिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर विभुराज दाहालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय झापाले गत असोज १५ गते जिल्लाका सबै नाका खोल्ने निर्णय गरेको थियो । असोज १६ गते नै भद्रपुर सीमा नाकामा हेल्थ डेस्क राख्ने भद्रपुर नगरपालिका तयार भइसकेको थियो । तर, भारतीय पक्षले नमानेपछि सीमा हेल्थ डेस्क त्यस बेला राखिएन ।

भारतीय पक्षले नाका सहज बनाएसँगै भद्रपुर नगरपालिकाले अहिले हेल्थ डेस्क राखेको छ । योसँगै अब मेची पुलबाट सर्वसाधारणलाई आवत जावत गर्न दिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

वडा कार्यालयका अनुसार हेल्थ डेस्कमा दुवै देशका नागरिकलाई खोप कार्ड, पिसीआर रिपोर्ट, नागरिकता, मतदाता परिचयपत्र देखाए मात्र आवतजावत गर्न दिइरहेको जनाएको छ ।

सरकारले भद्रपुर नाकामा ३७ करोड लागतमा मेची पुल बनाएको छ । कोरोना महामारीका कारण लामो समयदेखि सीमा नाका सञ्चालनमा नआउँदा यहाँका जनताले मेची पुलको उपयोग गर्नबाट पनि वञ्चित हुनु परेको थियो । नाका बन्द हुँदा भद्रपुर लगायत दक्षिण भेगका बासिन्दा काँकरभिट्टा भएर भारत जानु पर्ने बाध्यताको पनि अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV