१३ कार्तिक २०७८, शनिबार

काठमाडौं । नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रश्न उठेकाले उनले मार्गप्रशस्त गर्दा नै राम्रो हुने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीशको पद सम्मानित पद भएकोले उनको सहज ढंगले बहिर्गमन हुनेमा आफूहरु विश्वस्त रहेको सुनाए ।

उनले भने, ‘हामीले भद्र कार्यक्रम गरिरहेका छौं । हामीले अदालत बहिष्कार गरेका छैनौं । इजलास हामीले बहिष्कार गरेका छैनौं । अदलातमा मुद्दा सुनुवाई गर्न स्थगित गर्न भनेका छैनौं । अहिलेको अवस्थामा प्रधानन्यायाधीशको सहज बहिर्गमन नै सही विकल्प हो । पद परित्याग गर्नेहरुको नाम भोलि सुनौलो अक्षरले लेख्न सकिन्छ ।’

उनले थप भने, ‘तपाईँमाथि प्रश्न उठ्यो, अहिले मार्गप्रशस्त गर्नुहोस् । सम्माननीय प्रधानन्यायाधीशको प्रतिष्ठा र स्वतन्त्र न्यायापालिकाको रक्षाको लागि पनि मार्गप्रशस्त गरिए उहाँको नाम सुनौलो अक्षरले ईतिहास लेखिनेछ । उहाँले मार्गप्रशस्त गरे सबैको हित हुन्छ ।’

उनले बारले हिजो नै भोलिदेखि आन्दोलनका कार्यक्रम सञ्चालन गरिने जनाए । उनले अहिले प्रधानन्यायाधीशको बारेमा प्रश्न उठेकोले आफूहरुले मार्गप्रशस्त गर्नुहोस भनेको स्मरण गराए । उनले आफूहरुले न्यायालयको स्वतन्त्रता, निश्पक्षता, पारदर्शीता र जनताप्रतिको जिम्मेवारीको लागि सुरुदेखि नै धेरै विषय उठाएको बताए ।

उनले भने, ‘हामीले त न्यायाधीश नियुक्त हुन योग्यहरुको नाम सर्वाजनिक गर्नुहोस भन्यौं । प्रारम्भदेखि यी विषय उठाएका छौं । न्यायालयको गरिमाको लागि हामीले सुरुदेखि नै आवाज उठाएका छौं । राजनीतिक दलहरुको हस्तक्षेपविरुद्ध यी आवाज हामीले उठाएका छौं ।’

उनले फेरि भने, ‘दलहरुबाट न्यायापालिकाका प्रमुखलाई प्रयोग गर्ने, भाग दिने, न्यायाधीशहरुलाई पदक दिने काम भयो । चरम उत्कर्षमा पुगिसकेको छ । सत्ता गठबन्धनमा रहेका दलहरुले खेलेको भूमिका, न्यायाधीशहरुलाई वितरण गरेको पदक, यी सबै गतिविधिले स्वतन्त्र न्यायापालिकाको गरिमा भंग हुनछ ।’

उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिँदैमा अहिलेको सबै समस्याको समाधान नहुने पनि बताए । उनले भने, के प्रधानन्यायाधीशले राजीनामा दिँदैमा सबै समाधान हुन्छ त ? हुँदैन । हामी कुनैपनि न्यायाधीशको पक्षमा छैनौं । अहिले प्रश्न उठेकोले यसमा सबैभन्दा जिम्मेवार व्यक्ति भनेको नै न्यायालयको प्रमुख नै हो । त्यही भएर हामीले उहाँको स–सम्मान बहिर्गमनको कुरा उठाएका छौं । उहाँले पद परित्याग गर्दा न्यायापालिकाको गरिमामा बृद्धि हुन्छ । प्रधानन्यायाधीश जबराको बहिर्गमनको विषयमा नेपाल बारमा कुनै विवाद छैन् ।’

उनले न्यायाधीश नियुक्तीको सन्दर्भमा पनि आफूहरुले डे–वान देखि कुरा उठाएको सुनाए । उनले भने, ‘विगतमा हामीले निकालेका विज्ञप्ती हेर्नुहोस ।’ उनले बार–बेन्च समन्वय समिति कानूनसम्मत गठन भएको पनि दाबी गरे । उनले भने, ‘यो समितिका कामकारबाहीबारे कहीँकतै कमिकमजोरी भए सच्याउनुपर्छ । यी विषय उठे हामी बारमा छलफल गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV