१३ कार्तिक २०७८, शनिबार

एजेन्सी । प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारीयताकै पहिलो कोभिड घटना पुष्टि भएको छ ।

टोङ्गामा शुक्रवार महामारी सुरु भएयताकै पहिलो कोभिड सङ्क्रमण पुष्टि भएपछि त्यहाँका मानिसहरू कोरोनाविरुद्धको खोप लगाउन हतारिएका छन्।

उडानमार्फत न्यूजील्यान्डबाट आएका एक जना पूर्ण मात्रा खोप लगाएका मानिसमा सङ्क्रमण पुष्टि भएको थियो ।

अर्को सातादेखि मुख्य द्विप टोङ्गाटपुमा लकडाउन हुनसक्ने त्यहाँका प्रधानमन्त्री पोहिभा तुएनिटोआले बताएका छन् । टोङ्गा कोभिड सङ्क्रमण नपाइएको अन्तिममध्येको देश थियो।

उक्त टापु देशमा एक लाखभन्दा धेरै मानिसहरू बस्छन् । यो न्यूजील्यान्डभन्दा उत्तर पश्चिममा अवस्थित छ। बीबीसीका अनुसार टोङ्गाका एकतिहाइ जनसङ्ख्याले मात्र पूर्ण मात्रा खोप लगाएका छन्।

तर त्यहाँको राष्ट्रिय खोप कार्यक्रम संयोजकले खोप लगाउन हजारौँ मानिसहरू केन्द्रहरूमा जम्मा भएको बताएका छन्।

सङ्क्रमित व्यक्ति घर फिर्तीका लागि न्यूजील्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २१५ जनामध्येका एक रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV