१३ कार्तिक २०७८, शनिबार

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान करिब एक महिनापछि मुम्बईको आर्थर रोड जेलबाट आज रिहा भएका छन् । उनलाई क्रुज शिप पार्टीबाट लागुऔषध केसमा पक्राउ गरिएको थियो।

कारागार बाहिर सञ्चारकर्मीको भीड थियो र सुरक्षाका लागि प्रहरी पनि उपस्थित थिए । जेलबाट बाहिरिनेबित्तिकै आर्यन खान कारमा चढेर गएको जनाइएको छ ।

बिहीबार २३ वर्षीय आर्यन खानलाई लागूऔषध मुद्दामा मुम्बई उच्च अदालतले तीन दिनको सुनुवाइपछि जमानत दिएको थियो तर उनले थप एक रात जेलमै बिताउनुपर्ने भयो ।

समयमै जमानत कागजात नपाउँदा यस्तो भएको जनाइएको छ । उक्त कागजातहरू शनिबार बिहान साढे ५ बजे जेल प्रशासनलाई दिएपछि आर्यन खान रिहा भएका छन् ।

मोदी सरकारमा महान्यायाधिवक्ता रहेका मुकुल रोहतगीले अदालतमा आर्यन खानको पक्षमा बहस गरेका थिए । अभिनेत्री जुही चावलाले एक लाख रुपैयाँ धरौटीमा हस्ताक्षर गरेकी छन् । जुही चलवा शाहरुखका प्रारम्भिक फिल्महरूमा सह–अभिनेत्री थिइन् र उनी शाहरुख खानसँग कोलकाता नाइट राइडर्स टोलीको सह–मालिक पनि हुन्।

जुही चावलाले अदालतबाहिर मिडियासंग भनिन्, ‘यो सबै समाप्त भएकोमा म धेरै खुसी छु । यो सबैका लागि ठूलो राहतको कुरा हो।’

आर्यन खानलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अक्टोबर २ मा क्रुज शिप पार्टीबाट पक्राउ गरेको थियो । यस मामिलामा २० जना पक्राउ परेका थिए ।

एनसीबीले आर्यन खानबाट लागूऔषध नपाएको तर उनको ह्वाट्सएप च्याटले उनी अवैध लागूऔषध तस्करीमा संलग्न रहेको देखाएको अदालतमा दाबी गरेको छ ।

आर्यनसंगै लागूऔषध मुद्दामा पक्राउ परेका अरबाज मर्चेन्ट र मोडल मुनमुन धमिचाले पनि जमानत पाएका छन् । यसअघि पनि आर्यन खानको जमानतमा दुई पटक मुद्दा चलेको थियो तर सफल हुन सकेको थिएन ।

LIVE TV