१३ कार्तिक २०७८, शनिबार

एजेन्सी । अमेरिकी गुप्तचर निकायहरूले कोरोना भाइरसको उत्पत्तिबारे कहिल्यै पत्ता नलाग्न सक्ने निष्कर्ष निकालेका छन् । गप्तचर निकायले कोरोनाभाइरस जैविक हतियार भने नभएको निष्कर्ष निकालेका छन्।

‘अफिस अफ द यूएस डाइरेक्टर अफ न्याश्नल इन्टिलिजेन्स ओडिएनआई’ का अनुसार कोभिड १९ जनावरबाट मानिसमा फैलिएको र प्रयोगशालाबाट मानिसमा सरेको दुवै परिकल्पना वास्तविक हुनसक्ने बताएको छ। यसबारे ठ्याक्कै यही भन्नकालागि यथेष्ट प्रमाणहरू नजुटेको बताइएको छ ।

गत अगस्टमा अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले गरेको ९० दिने समीक्षालाई अद्यावधिक गरेर सार्वजनिक गरेको विवरणमा यी निष्कर्ष रहेका छन्। निष्कर्षम समीक्षामा गुप्तचर समुदाय भाइरसको उत्पत्तिका सम्बन्धमा विभाजित रहेको उल्लेख गरिएको छ ।

चार गुप्तचर निकायले यो सङ्क्रमित जनावर वा सम्बन्धित भाइरसबाट उत्पत्ति भएकोमा ‘कम विश्वस्त’ रहेको बताएका छन् भने एउटा निकायले पहिलो मानव सङ्क्रमण प्रयोगशालामा भएको दुर्घटनाबाट भएको हुन सक्ने केही हल्का आधार रहेको पनि बताएका छन् ।

कोरोना संक्रमण फैलावट वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा गरिएको परीक्षण वा जनावरको परीक्षण गरिएको बेला भएको हुनसक्ने अनुमान सो निकायले गरेको छ।

प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर वुहानमा भएको कोभिड-१९ को सङ्क्रमणअगाडि चिनियाँ अधिकारीहरूलाई कोरोनाभाइरसबारे जानकारी नभएको बताइएको छ।

प्रतिवेदनमा चीनले सूचना दिन र अन्तर्राष्ट्रिय अनुसन्धानमा सहयोग नपुर्‍याएको पनि लेखिएको छ।

चिनियाँ अधिकारीहरूले कोभिडको सङ्क्रमणलाई वुहानको समुद्री खाद्य बजारसँग जोड्ने गरेका छन् जसका कारण वैज्ञानिकहरू कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको हुन सक्ने बताउदै आएका छन् ।

यस वर्षको सुरुमा अमेरिकी सञ्चारमाध्यमहरूले वुहानको प्रयोगशालाबाट दुर्घटनावश भाइरस फैलिएको हुन सक्ने विवरण प्रकाशित गरेका थिए। चीनले यो कुरा अस्वीकार गर्ने गरेको छ।

गत मे महिनामा बाइडनले गुप्तचर अधिकारीहरूलाई भाइरसको उत्पत्तिको अनुसन्धान गर्न आदेश दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV