१३ कार्तिक २०७८, शनिबार
  • महेश्वर के.सी.

काठमाडौँ । नागार्जुन नगरपालिका पर्ने इचङ्गु यतिखेर सयपत्री फूलहरुले ढकमक्क देखिन्छ । त्यहाँका फूल व्यवसायीलाई अहिले फूल टिप्ने चटारो छ ।

तिहारका बेला धेरै फूलको खपत हुन्छ । यसपालि पनि तिहारको सिजन लागेसँगै यहाँका किसानहरु फूल टिप्न, बजार पठाउनमा व्यस्त छन् । यहाँबाट ढ्वाङको हिसाबले किसानहरुले फूल बेच्ने गरेका छन् । विगतमा प्रतिढ्वाङ रु ४०० का दरले बेच्ने गरेकोमा यसपालि मूल्य केही बढ्ने आशा गरेको एक किसानले बताए ।

तर यसपालि कार्तिकको पहिलो साता भएको बेमौसमी वर्षाका कारण पहेँलो हुनुपर्ने सयपत्री फूलहरु कालो भएको उनीहरु बताउँछन् । यस भेगमा पहिले प्रशस्तै कोदोखेती हुन्थ्यो, तर फूलखेतीबाट आम्दानी बढी हुने भएकाले किसानहरु यसतर्फ आकर्षित भएका छन् ।

नेपालमा वर्सेनी भारतबाट ठूलो मात्रामा फूलको आयात हुने गर्छ । तिहारका बेला बढी प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री फूलको आपूर्तिमा इचङ्गुले केही हदसम्म भए पनि माग धान्ने देखिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV